काठमाडौं, २८ मंसिर । गाँउ विकास समिति कर्मचारी संघ नेपालले निजामती कर्मचारी सरहको सेवा सुविधाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
काठमाडौंम आज पत्रकार सम्मेलन गरेर संघले आगामी पुस ५ गते पाँचै विकास क्षेत्रमा क्षेत्रीय भेला आयोजना गर्ने, ६ र ७ गते हातमा कालो पट्टी बाधेर काम गर्ने, ८ गते ललितपुर जिल्लाका सम्पूर्ण गाविस बन्द गर्ने, ८ देखि १० गतेसम्म देशभरिका गाविसमा पेन डाउन गर्ने, ११ गतेदेखि अनिश्चितकालीन स्थानीय निकाय बन्द गराउने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष विक्रम महर्जनले पहिलो चरणको आन्दोलन जारी रहँदा समेत आफूहरुको माग पूरा नगरे पुस १४ गते केन्द्रीय समितिको बैठक बसेर अझै कडा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो ।
उहाँले सरकारले स्थायी नियुक्ति पत्र दिए पनि सरकारी कर्मचारीभन्दा अत्यन्त न्यून सेवा सुविधा पाएको भन्दै अहिलेकै अवस्थामा गाविस कर्मचारीहरु भोकै मर्न सक्ने अवस्था रहेकोले यसमा सरोकारवालको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
संघले निजामती कर्मचारी सरह तलब, भत्ता, सुविधा हुनुपर्ने, कर्मचारी कल्याणकोषको ब्यवस्था मन्त्रालयले गर्नु पर्ने, स्थानीय निकायका कर्मचारीको अभिलेख शाखामा गाविस कर्मचारीको अभिलेख राख्नु पर्ने, गाविस अनुदान ५० प्रतिसत बृद्धि गर्नु पर्ने, सहमति कार्यान्वयन गर्नु पर्नेलगायतका रहेका छन् ।














प्रतिक्रिया