२८ आश्विन २०८३, बुधबार

राजस्वमा आधारित अर्थनीतिका कारण देशको व्यापारघाटा बढ्दोःमन्त्री थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil thapa

काठमाडौँ, २३ असार । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले राजस्वमा आधारित अर्थनीतिका कारण देशको व्यापारघाटा बढ्दै गएको बताउनुभएको छ ।

वाणिज्य तथा आपूर्तिमन्त्रालयमा सोमवार आयोजित वाणिज्य नीति–२०६५ सम्बन्धी छलफलमा उहाँले भन्नुभयो,‘ नीतिगत कमजोरीकै कारण हाम्रो अर्थतन्त्र परनिर्भर भएको हो, त्यसलाई परिवर्तन गर्न जरुरी छ ।’

नेपाललाई विश्व अर्थतन्त्रमा व्यापारिक केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले सरकारले निजी क्षेत्रको क्रियाकलापलाई सहजीकरणमात्र गर्ने भएकाले निजी क्षेत्र प्रतिस्पर्धी हुनुपर्ने धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय उपभोक्तालाई ध्यानमा राखेर उत्पादन वृद्धि गर्न सकेमात्र निर्यात प्रवद्र्धन गर्न सकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले व्यापार घाटालाई कम गर्नका लागि सबै मन्त्रालयको समन्वय जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले समयानुकुल वाणिज्य तथा आपूर्ति नीति बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ पाण्डेले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्नका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

छलफलमा सहभागी मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रमा प्रतिनिधिले विश्वव्यापीकरण, निजीकरण तथा पछिल्लो समयमा विकास भएका आधुनिक प्रविधिसँगै देशको वाणिज्य नीति परिवर्तन गर्दै लैजानुपर्ने सुझाव दिनुभएको थियो ।