भद्रपुर, २५ मङ्सिर । ‘नेपालको संविधान जनताको संविधान : जनताको संविधान जनताका माझमा’ विषयमा नयाँ संविधानबारे प्रचारप्रसार गर्ने उद्देश्यले जिल्ला विकास समिति झापाद्वारा चन्द्रगढीमा आयोजित एक सभा आज यहाँ सम्पन्न भएको छ ।
कार्यक्रममा कानुनविज्ञ अशोक पोखरेल र कुलप्रसाद दाहालले संविधानका मूलभूत प्रावधानअन्तर्गत नेपालको संविधानले आत्मसात् गरेका मूल्य, मान्यता र सिद्धान्त, प्रारम्भिक व्यवस्था, नागरिकतासम्बन्धी प्रावधान, समानुपातिक समावेशीसम्बन्धी, महिला अधिकार, दलित अधिकार, मधेसी अधिकार, आदिवासी जनजातिका अधिकार, पिछडा वर्ग, सीमान्तकृत समुदाय, अल्पसङ्ख्यक समुदाय, थारू र मुस्लिमको अधिकार, अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा विस्तृत जानकारी दिनुभएको थियो ।
उहाँहरुले नेपालको संविधानले कसैलाई पनि पक्षपात नगरेकाले सबै वर्ग, धर्म, समुदाय र जातिको उत्थान एवम् विकासमा महत्वपूर्ण रहेको चर्चा गर्दै संविधानको आलोचना र विरोध गर्नुभन्दा पनि यसमा भएका व्यवस्थालाई मनन, अध्ययन र गहिरो छलफल गरेमा सबै नकारात्मक कुरा हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।
निमित्त स्थानीय विकास अधिकारी सुशील श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सभासद्द्वय रबिन कोइराला र सुधीर सिवाकोटी तथा प्रम्ुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले पनि नेपालको संविधान उत्कृष्ट रहेको र यसमा कसैले पनि शङ्का गर्न नहुने धारणा राख्नुभएको थियो । रासस














प्रतिक्रिया