पोखरा, २४ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशसामु रहेको अहिलेको सङ्कट चाँडै समाधान हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले समस्या समाधानका लागि सरकार सक्रिय र जिम्मेवारपूर्ण ढङ्गले लागिरहेको बताउनुभयो ।
सामाजिक न्याय, समानुपातिक, समावेशीतालगायत विषयमा केही प्रावधान थप गर्न संविधान संशोधनको प्रक्रिया अघि बढेको जानकारी गराउँदै उहाँले सीमाङ्कनको विषय समाधान गर्न आन्दोलनरत दलसँग सार्थक संवाद गर्न सरकार लागिपरेको बताउनुभयो ।
“सीमाङ्कनका विषयमा टुङ्गो लगाउन आन्दोलनरत दल र सरकारबीच सार्थक संवाद र छलफलको क्रम बढाउनुपर्छ,” उहाँले भन्नुभयो – “यस विषयलाई निष्कर्षमा पु¥याउन राजनीतिक संयन्त्र, संसदीय समिति वा आयोग बनाएर जाने विषयमा आन्दोलनरत दल समाहित हुनुपर्छ ।”
दक्षिण एसियाली मुलुकहरुमाझ उत्कृष्ट लोकतान्त्रिक संविधानका रुपमा ‘नेपालको संविधान’ आएको दाबी गर्दै उहाँले यसबारे भ्रम सिर्जना गर्न खोजिएकामा दुःख व्यक्त गर्नुभयो । रासस














प्रतिक्रिया