धनगढी, २३ मंसिर । नेकपा (एमाले) ले संविधान बारे जानकारी दिन पुस ३ गते अत्तरिया आयोजना गर्ने बृहत सभा भव्य बनाउनका लागि मंगलवार प्रचार प्रसार उपसमितिको वैठक बसेको छ ।
बैठकले अत्तरियाको सभा भव्य बनाउन धनगढी, महेन्द्रनगर र अत्तरियामा बृहत पत्रकार सम्मेलन र सम्बन्धित नेता र कार्यकर्ताको उपस्थितिमा बैठक गर्ने निर्णय गरेको उपसमितिका सचिव लक्ष्मण कुँवरले वताए । यस्तै सञ्चार माध्यमलाई सूचना प्रवाह गर्न अनुरोध गर्ने, दुईवटै जिल्लामा माइक, पोष्टर र पम्पलेटबाट प्रचार प्रसार गर्ने निर्णय भएको पनि कुँवरले वताए ।
एमालेका केन्द्रीय सदस्य तथा सेती अञ्चल इन्चार्ज र प्रचार प्रसार उपसमितिका संयोजक महेश्वर पाठकको अध्यक्षतामा भएको बैठकमा कैलाली कञ्चनपुरका पार्टी सचिव, उपसचिव र प्रचार प्रसार उपसमितिमा रहेका एमाले निकट पत्रकारहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय सदस्य पाठकले सो सभालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री भीम रावल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । नेता पाठकले संविधानमा रहेका भ्रम समेत चिर्ने उद्देश्यले हुने सभामा कैलाली र कञ्चनपुरका एक लाख जनताको सहभागिता रहने अपेक्षा गरिएको जनाए ।
हालै सुदूरपश्चिम संयोजक उपाध्यक्ष भीम रावलको उपस्थितिमा धनगढीमा भएको सेती महाकाली अञ्चलको संयुक्त बैठकले पुस ३ गते एकसाथ अत्तरियामा बृहत सभा र पहाडका सात जिल्लामा संविधानबारे जानकारी दिन र्यालीहरु आयोजना गर्ने निर्णय गरेको पनि केन्द्रीय सदस्य पाठकले बताए ।















प्रतिक्रिया