दाङ, २२ मंसिर । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशी मित्रहरूको सहयोगबाट दाङमा १३ वटा कुवा निर्माण गरिएको छ ।
दाङ जिल्ला घर भएका युवा स्वयंसेवी तीर्थ पौडेलले ब्रिटिश नागरिक एलिस रथ फिशर र वरिष्ठ पत्रकार भगीरथ योगीको सहयोगमा ती कुवा निर्माणमा लाग्ने आर्थिक श्रोत संकलन गरिएको हो ।
सो रकम क्राउड सोर्सिङमार्फत जम्मा गरिएको थियो । विदेशमा छरिएर रहेका साथीहरूलाई दाङमा रहेको खानेपानीको समस्या अबगत गराई स–सानो सहयोग जुटाई सो कामपूर्ण गरिएको थियो ।
क्राउड सोर्सिङमार्फत रकम संकलन गर्नका लागि झण्डै डेढदसक अघि दाङमा स्वयंसेवकको रुपमा काम गरेकी एक ब्रिटिश नागरिक एलिस रथ फिशर र भगीरथ योगीको उल्लेखनीय सहयोग रहेको छ ।
सम्पूर्ण कामको संयोजनकारी भूमिका तीर्थ पौडेलले गरेका थिए । प्रारम्भमा दाङका विपन्न समुदायका लागि कम्तिमा १० वटा ईनार निर्माण थालिएको थियो । श्रोत संकलन राम्रो हुँदै जाँदा १३ वटा ईनार १ वटा पानी टंकी र १ इनार पुनःनिर्माण गरिएको छ । संकलित सम्पूर्ण रकम समुदायमा पुगेको पत्रकार योगीले बताउनुभयो ।
स्थानीय तहमा इनार निर्माणको काम दाङको गैर सरकारी संस्था मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रसंगको सहकार्यमा तथा स्थानीय समुदायको सहभागितामा सम्पन्न गरिएको थियो ।
‘यो अभियानमा नेपाललाई माया गर्ने ब्रिटिश र संसारभरि फैलिएका गैरआवासीय नेपालीहरूबाट प्राप्त सहयोग र समर्थनबाट म अभिभूत भएकी छु’, एलिसले भनिन् । उनले सम्पूर्ण सहयोगदाताहरूप्रति हार्दिक आभार पनि व्यक्त गरिन् ।
सुरुमा सौंडियार, हापुर, ढिकपुर र धर्ना गाविसमा स्थानीय थारु तथा दलित समुदायका लागि जम्मा दशवटा इनार बनाउने योजना रहेकोमा पछि सौडियार गाविस घडेरीस्थित शान्ति बाल गृहका लागि समेत गरी जम्मा तेह्रवटा इनारहरू निर्माण गरिएको पौडेलले बताए ।
यसबाहेक सोही बजेटबाटै पर्सा गाउँमा एउटा इनारकासाथै घोराही नगरपालिकामा एउटा पानी ट्याङ्की पनि मरम्मत गरिएको थियो ।
‘भर्खरै खनिएका इनारहरूबाट प्रदूषित पानीका कारण झाडा पखालाबाट ज्यान जाने कैयौं बालबालिकाहरुको जीवन बँच्ने र एक गाग्री पानी भर्न टाढाटाढा जान बाध्य ग्रामीण महिलाको समय पनि बचत हुनेछ’, पौडेलले भन्नुभयो । साथै आफ्नो क्षेत्रमा सानो सामाजिक कार्य गर्न पाएको र सफल भएकोमा खुसी लागेको समेत पौडेलले बताउुन भयो ।
आउँदो वर्षपनि दाङमै अन्य विपन्न समुदायका लागि थप इनारहरू खन्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।


















प्रतिक्रिया