लहान, २१ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहा जिल्लाको धनगढीमा आज बिहान यात्रुवाहक बस र ट्याङ्कर ठोक्किँदा सातजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४२५ नम्बरको बसले ट्याङ्करलाई उछिन्न गर्न खोज्दा धनगढी–८ स्थित राजमार्गमा ना४ख ४३८५ नम्बरको ट्याङ्करको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा परी बसका चालक काठमाडौँको बानेश्वर निवासी २८ वर्षीय पारस भुजेल, बसका सहचालक मोरङको टङ्किसिनुवारी–४ निवासी २४ वर्षीय घनश्याम बस्नेत, बसमा सवार मोरङ विराटनगर–१ निवासी ३५ वर्षीय किशोरमान अधिकारी, मोरङको दुलारी–६ निवासी ३२ वर्षीय डम्बरबहादुर गुरुङ, हरैचा–३ निवासी ४२ वर्षीय ईश्वर आचार्य, याङशिला–५ निवासी ५१ वर्षीय खमबहादुर महत र सुनसरीको इटहरी–१ निवासी ३८ वर्षीया तिर्थाकुमारी राई घाइते भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुर्घटनामा घाइते सबै जनाको सिरहाको गोलबजारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया