– बिन्दु थापा
बुटवल, १९ मंसिर । महिला स्वास्थ्य स्वयंसेविकाहरुले राज्यले आफ्नो कामको मुल्याङ्कन नगरेको गुनासो गरेका छन् ।
अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवसका अवसरमा शनिबार बुटवल उपमहानगरपालिका र स्वास्थ्य स्वयम्सेविका बुटवल नगर समन्वय समितिले बुटबलमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले जीवनभर निःशुल्क काम गर्दा आर्थिक अवस्था कमजोर हुदै गएको र जीविकोपार्जनमा समेत समस्या देखिएको गुनासो गरे ।
स्वास्थ्य स्वयम्सेविका संघका राष्ट्रिय उपाध्यक्ष शारदा सुवेदीले राज्यले सेवा वाफत प्रोत्साहनसमेत नदिदा आत्मबल गिरेको बताउनुभयो । स्वास्थ्य स्वयम्सेविका संघ बुटवल अध्यक्ष सावित्रा अर्यालले नगरपालिकाका स्वास्थ्य स्वयम सेविकालाई परिचयपत्र समेत नदिएर राज्यले विभेद गरेकोे दुखेसो गर्नुभयो ।
महिला स्वास्थ्य स्वयम सेविका तथा लेखक माया गौतमले घरदैलोसम्म पुगेर स्वास्थ्य अभियान सम्पन्न गर्ने स्वयम् सेविकालाई राज्यले स्वयम् सेवकको अन्तराष्ट्रिय मापदण्ड अनुसार सेवा सुविधा दिनुपर्ने माग गर्नुभयो ।
नेपालमा भने राज्यले अहिले महिला स्वास्थय स्वयम सेविकालाई वार्षिक ६ हजार पोशाक भत्ता र सेवाबाट निस्कदा एकमुष्ठ १० हजार रुपैया दिने गरेको छ । अभियानका दिन २ सय भत्ता, सरकारी अस्पतालमा निशुल्क उपचार, ऋृण लिनका लागि एक गाविसमा ५० हजार बराबरको अक्षयकोष समेत उनीहरुले पाउने गरेका छन् ।
परिचय पत्र नहुँदा नगरपालिकाका स्वयम्सेविकाहरु भने निशुल्क उपचार र अक्षयकोषबाट पनि बञ्चित छन् । स्वास्थ्य स्वयम्सेविका बुटवल नगर समन्वय समितिले आजै स्तन क्यान्सरबाट पीडित बुटवल १३ की स्वास्थ्य स्वयम सेविका राधा पौडेललाई १० हजार नगद सहयोग गरेको छ ।
स्वयम् सेविका राधिका सिग्देलले सञ्चालन गरेको कार्यक्रममा बुटवल उप महानगरपालिकाका बरीष्ठ अधिकृत विष्णु खनाल, जिल्ला जनस्वास्थ्य कार्यालयका कृष्ण पंगेनी, सञ्चारिका समूह लुम्बिनीका निरु गौतम, कदम नेपालका इन्दिरा आचार्य, रेडियो मुक्तिका कल्पना तिवारी, महिला जेसीजका ज्ञानु केसी लगायतले बोल्नुभएको थियो ।















प्रतिक्रिया