१२ कार्तिक २०८३, बिहिबार

सीमावर्ति रुपन्देहीमा चोरीतस्करी बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol-ko-kalo-bazari-1_n– नरेश केसी
भैरहवा, १९ मंसिर । रक्तचन्दन, चामल, हार्डवेयरका सामग्री, गोरु र कुखुरा तस्करीमा एक दशक अगाडीसम्म नामुद मानिने रुपन्देही जिल्लाको सीमावर्ति क्षेत्रमा पुनः चोरी तस्करी मौलाउन थालेको छ ।

लगातारको बन्द हड्तालको फाइदा उठाउदैं तस्करहरु अहिले सलबलाइरहेका छन् । तस्करहरुले मधेसी मोर्चाद्वारा आयोजित आन्दोलनलाई अवसरको रुपमा लिदैं दिनरात चोरी तस्करीमा व्यस्त हुदैं आएका छन् ।

करिब एक दशक यताको विश्लेषण गर्ने हो भने सबैभन्दा बढी चोरी तस्करी आजभोली भइरहेको सीमाक्षेत्रका बासिन्दाहरु बताउंछन् । जिल्लाको केवटलिया नाकाबाट दिनभरी डिजल पेट्रोलको रातभरी कपडा, खानेतेल, चामल, कुखुरा, इनडक्सन चुल्होको तस्करी भईरहेको स्थानिय हरेराम मल्लाहले जनाए । उनले भने “पुलिस आउदैं आउन्न, यहाँ जसले जे गरेपनि हुन्छ ।” सीमावर्ति भारतीय क्षेत्रमा ग्रामपन्चायतको निर्वाचन चलेको कारण केही दिनदेखी तस्करहरु झन सक्रियतापुर्वक लागेको देखिन्छ । दिनभरी चुनावको प्रचार गर्ने रातभरी तस्करी गर्ने प्रवृत्ति देखिएको सीमावर्ति भारतीय एक नागरिकले जनाए ।

कालिदह नाकाबाट दिउसैं गाडीका गाडी चोरीका समानहरु नेपाल भित्रीरहेको लुम्बिनी पडरीयाका बासिन्दा राजकुमार मिश्रले जनाए । उनले भने “यो नाकाबाट के आएको छैन, सबै आएको छ तब त भैरहवा बुटवलाई सहज भएको छ ।”

लगातारको करिब साढे तीन महिनादेखीको बन्द हड्तालको कारण एकातिर रुपन्देहीमा खुलेआम तस्करीलाइ बढावा दिईरहेको छ भने अर्कोतिर यहांको बजारमा दिनप्रतिदिन कालोबजार मौलाएको छ । जिल्लाको सीमावर्ति क्षेत्र बेलहिया, मर्चवार, धकधई, बनगाई, केवटलिया, पीपरीहीया, भगवानपुर, चनौली बगाह, कालिदह, बगौली, चन्नी, करौता, थुमुहवा पीपरहवा, मुडुला लगायतका नाकाबाट आजभोली दैनिक करौडौं मूल्यका विना भन्सारका सामग्री नेपाल भित्रीरहेको बुझिएको छ । सीमावर्ति क्षेत्रमा दिनभरी तस्करहरुले तेलको खुलेआम बजार लगाउने गरेका छन् । सीमापारी भारतीय बजारका पेट्रोल पम्पमा १ सय १२ रुपैया प्रतिलिटर अधिकत्तम मूल्य पर्ने तेल सीमावारी नेपाली भूमिमा २ सय प्रतिलिटरमा विक्री हुने गरेको छ ।
भन्सार नतिरी चोरीको बाटोबाट लिइएका सामग्रीको मूल्य पनि बजार पिच्छे फरक फरक रहेको छ । बजारमा मूल्य आकशीएको छ । कालोबजार मौलाउनमा विशेषतः यहांको प्रशासन र प्रहरीको अप्रत्यक्षरुपमा सहयोगको कारण भएको उपभोक्ताहरुले बताउन थालेका छन् । कालोबजारीयाका नाइकेहरुसंग स्थानिय प्रहरी प्रशासन र मधेसी मोर्चाका नेताहरुको साठगाठ रहेको उपभोक्ताहित संरक्षण मन्च रुपन्देहीका अध्यक्ष लक्ष्मण बैदवारले आरोप लगाएका छन् । अध्यक्ष बैदवारले भने “ उपभोक्ताहरुको ढांड भाच्नेगरी बजारमा भाऊ बढेको छ । व्यापारीहरुले कयौं उपभोग्य सामग्री लुकाईरहेका छन् । प्रशासनले झारा टार्ने तरिकाले अनुगमन गरिरहेको छ । ”
व्यापारीहरुले ३ सय गुनाभन्दा बढी मूल्य लिएर समान बेच्ने गरेको पनि उपभोक्ता हित संरक्षण मन्चले दाबी गरेको छ । बढ्दो कालोबजारीयाको सम्बन्धमा ध्यान आकृष्ट गराउदैं प्रसासनमा ज्ञापन पत्र बुझाएको अध्यक्ष बैदवारले जनाए ।
बजारमा भारतीय रुपैयांको पनि कालोबजारी अत्याधिक बढेको छ । विगतमा सयकडा डेढ रुपैया सम्म बट्टा हुने भारतीय रुपैयामा अहिले १५ रुपैयासम्म बट्टा दिने गरिएको छ । जसको कारण विभिन्न गिरोह नेपालको एभरेष्ट, एसविआई जस्ता भारतीय बैंकसंग सम्बन्धित बैंकको पचासौं एटिएम बनाउने र त्यो एटिएमबाट भारतीय नौतवना सुनौली बजारमा गएर पैसा निकाल्ने र पुनः नेपाल आएर भारु बेच्ने गरिरहेका छन् ।
यता स्थानिय प्रशासन भने कालोबजारी नियन्त्रण गर्न असफल देखिएको छ । नाकाबन्दीको नाममा छुट भन्दै नेपाल भारत सीमा क्षेत्रमा दैनिक हजारौं लिटर डिजल पेट्रोल बिक्री गर्न दिइएको छ । सुरक्षाको दृष्टिले अत्यन्तै खतरा मानिने पेट्रोल डिजलको माछा बजार जस्तै बजार चलिरहदा पनि स्थानिय प्रहरी प्रशासन रमीते बनेको देखिन्छ । सडक नै कब्जा गरेर बेलहिया र डण्डा छेऊछाऊमा तेल बजार चलाउदा समेत नजिकै रहेको राजस्व एवं भन्सार गस्ती तथा दैनिक १० औं पटक ओहोर दोहोर गर्ने प्रहरी गस्ती आखां चिम्लीरहेको छ । मुख्य नाका भैरहवा भन्सार नाकामा तस्करी र कालोबजारी नियन्त्रण गर्न नसकेको प्रहरी प्रशासन ग्रामिण क्षेत्रमा भने जान त के नाम पनि लिन सकिरहेको छैन ।
स्थानिय प्रशासनले इन्धनकोलागी सीमा क्षेत्रमा खुकुलो रणनीति अपनाएता पनि तस्कहरुले त्यसको फाइदा उठाउदैं दिनभरी तेल, रातभरी कपडा, हार्डवेयरका सामग्री, कुखुरा, खानेतेलहरु अबैध रुपमा नेपाल भित्राइरहेका छन् ।
प्रहरी प्रशासनले सुरक्षाको कारण भन्दै सीमावर्ति क्षेत्रमा गस्ती गर्न छाडेको छ । जसको कारण अहिले रुपन्देही जिल्लाको विभिन्न भाग संग सीमा जोडीएको भारतीय क्षेत्रबाट खुलेआम तस्करी भईरहेको छ ।
यता अधिकार प्राप्तीकोलागी भन्दै आन्दोलन जारी राखेका मधेसी मोर्चाका केही नेता कार्यकर्ताहरु पनि चोरी तस्करी र कालोबजारको प्रबद्र्धनमा लागेको बुझिएको छ । जसको कारण मोर्चाका नेताहरुबीच फुट पनि आएको देखिन्छ । एकाथरी चोरी तस्करी र कालोबजारलाई नियन्त्रण गर्नमा उद्धत देखिएका छन् भने अर्कोथरी दुई नम्बरीयालाई उत्प्रेरणा दिने काम गरिरहेका छन् ।
एकथरी मोर्चाले अभियान नै चलाएर तस्करी नियन्त्रण गर्न थालेको छ । मोर्चाका नेता ओमप्रकाश यादव गुलजारीले तस्करी गरी लिएको २० हजार लिटर डिजल यसै हप्ता मोर्चाले बरामद गरी प्रहरीलाई बुझाएको जनाए । यद्यपी मोर्चाले दिनमा हुने चोरी तस्करीलाई निगरानी राखेको भएता पनि रातीमा भईरहेको कपडा,हार्डवेयरका सामग्री, कुखुरा, खानेतेल लगायतका चोरी तस्करीलाई पनि पक्रीन सकेको छैन ।
इन्धनको कालोबजारीयाकै चंगुलमा प्रशासन समेत परेको भैरहवाको पछिल्लो घटनाले देखाएको छ । ३ महिना अगाडी नापतौल तथा गुणस्तर कार्यलय रुपन्देहीका निरीक्षक शम्भु आचार्यको नेतृत्वको टोलीले ठीक छ भनी लगाएको टांचा ३ महिनापछि स्वतः गलत भएको भन्दै स्थानिय सरकारी पम्पमा शिलबन्दी गरिएको छ । सरकारीमा शिलबन्दी गरी तुरुन्तै निजी पम्पलाई स्थानिय प्रशासनको सिफारीशमा तेल वितरण गर्ने व्यवस्था गरिनुले पनि बजारमा के भईरहेको छ भनी उपभोक्ताहरु शसंकित भएका छन् । विग्रेको पम्प अझै सम्म बनाउने सुरसार देखिएको छैन । नेपाल आयल निगम क्षेत्रीय कार्यलय भलबारी अन्तर्गतको एकमात्र सरकारी पम्प भैरहवास्थित डिपो बन्द हुदा सरकारी राजस्वमा समेत ठूलो प्रभाव परेको छ ।
यता चोरी तस्करी नियन्त्रणमा प्रहरी प्रशासन नचुक्ने स्थानिय प्रशासनको दाबी छ । दुई चार लिटर डिजल पेट्रोल बाहेक अन्य सामग्री विना भन्सार नेपाल भित्राउन पुर्णतया बन्देज लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जनाए । उनले भने “हामी राज्यको नीति अनुसार कुनै पनि सामग्री विना भन्सार नेपाल भित्रीन दिन हुन्न भन्ने पक्षमा छौं कथंकदाचित कसैले सुरक्षा संवेदनशीलताको फाइदा उठाउदैं त्यस्ता गलत काम गरिरहेको छ भने तत्काल कारबाही गर्न प्रहार प्रशासन तत्पर छ ।”
प्रजिअ ढकालले मोर्चाले बरामद गरी बुझाएको इन्धन प्रहरी मार्फत भन्सार चलान भइरहेको र भन्सारले कानुनसंगत रुपमा कारबाहि अगाडी बढाउने पनि जनाए । मुलुकको पूर्वि नाकाहरु विरगन्ज, विराटनगर, रौतहट, काकडभिट्टामा मोर्चाले अवरोध पुराउदां दोस्रो ठूलो भन्सार नाका भैरहवा केही खुकुलो हुदां सहज त भएको छ तर सहजतासंगै विकृति पनि भित्रीएको छ । अर्कोतर्फ मधेसी मोर्चाको आन्दोलनलाई मथ्थर पार्न भैरहवा बेलहियाका स्थानियले ठूलो मद्धत पुराएको भएता पनि त्यसको पुरस्कार स्वरुप स्थानिय प्रशासनले चोरी तस्करीमा छुट दिइनु पनि दीर्घकालिन रुपमा ठूलो असर पर्न सक्छ ।
लुम्बिनी अन्चल प्रहरी प्रमुख भएर आएका एसएसपी शेरबहादुर बस्नेतको पुरानो सम्बन्धले पनि चोरी तस्करी नियन्त्रणमा असहजता सृजना गरेको स्रोतको दाबी छ । एसएसपी बस्नेत केही वर्ष अगाडी रुपन्देहीका प्रहरी प्रमुख भएर बस्दा त्यतिबेलाका चल्तापुर्जा तस्करीका नाइकेसंग राम्रै उठबस रहेको थियो । हालका एसपी बुद्धिराज गुरुंगले प्रहरी परिचालन र चोरी तस्करीमा कडाइ गर्न खोजेता पनि एसएसपीको कारण त्यो सफल हुन नसकेको बुझिएको छ । पुरानो सम्बन्धलाइ कति प्राथमिकता दिईरहेका छन् एसएसपी बस्नेतले भन्ने कुरा पछिल्लो एउटा घटनाले प्रस्टाउदछ ः “राती करिब १२ बजेतिर मधेसी मोर्चाका एक जना नेता भारतबाट नेपाल तर्फ आउदैं थिए । भन्सार बन्द भईसकेको थियो । भन्सारको बेरियल बन्द भएको कारण उनको गाडी यता आउने कुरै थिएन । तर पछि एसएसपी बस्नेतको निर्देशनमा कानुन विपरित मध्यरातमा ती नेताको गाडी नेपाल छिर्यो । डियूटीका भन्सार गार्ड, प्रहरी र शसस्त्र प्रहरी लाचर बने ” यो घटना अहिले रुपन्देहीमा चर्चाको विषय बनेको छ ।