नयाँ दिल्ली, २१ असार । इराकका विभिन्न स्थानमा फसेका भारतीय नर्सहरु शनिबार घर फर्किएका छन् । इराकमा फसेका कम्तीमा पनि ९४ जना भारतीय नागरिक भारत फर्किएको केही दिनपछि शनिबार ती नर्स घर फर्किएका हुन् ।
चारदिन अघिमात्र इराकी द्वन्द्वग्रस्त सहर मोसुलबाट ९४ जना भारतीय नागरिक घर फर्काइएको समाचारमा जनाइएको थियो । सो कामका लागि भारत सरकारले त्यहाँ अधिकारी खटाएको छ ।
इराकी उत्तरी सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिने क्रममा सयभन्दा बढी भारतीय नागरिकलाई इराकी सुन्नी मुस्लिमका लडाकूले अपहरण गरेका थिए । ती मध्ये ४६ जना नर्स पनि अर्काे एक इराकी सहरमा फसेका थिए ।
ती नर्सहरु टिक्रिट सहरमा फसेका थिए । टिक्रिटमा रहेको एक सरकारी अस्पतालमा ती नर्सहरु काम गरिरहेका थिए । सो सहर पनि इराकी सुन्नी मुस्लिम जिहादीहरुले नियन्त्रणमा लिदा ती नर्सहरु अस्पतालमै लुकिछिपी बसेका थिए ।
भारतीय अधिकारीहरुले ती नर्स भारत आइपुग्न लागेका र शनिबार उनीहरुका आफन्तले उनीहरुलाई स्वागत गर्ने कार्यक्रम राखेका बताएका छन् ।
टिक्रिट सहरलाई जिहादीहरुले आफ्नो नियन्त्रणमा लिएपछि बन्धक बनेका उनीहरुको उद्वारका लागि ती नर्सका आफन्तले सरकारसँग आग्रह गरेका थिए । उनीहरु निकै चिन्तित रहेका पनि बताइएको छ ।
ती नर्सलाई इराककै एक उत्तरी सहर अर्बिलबाट विमान चार्टर गरी शनिबार बिहानै घर फर्काइएको र सम्भवत उनीहरु आज मध्यान्हसम्ममा आफ्नो घर दक्षिणी भारतको केरला पुग्ने पनि बताइएको छ ।
उनीहरुको अवस्था बुझ्न भारतीय अधिकारीहरु विगत लामो समयदेखि इराकमा नै रहेका थिए । उनीहरुले ती भारतीय नागरिकलाई घर फर्काउनका लागि कूटनीतिक पहल गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबुरिद्दिनले भने– इराकका विभिन्न सहरबाट कम्तीमा ९४ जना भारतीय नागरिक गत सोमबार नै भारत आइपुगेका छन् भन्दै आज पनि ४६ जना नर्स भारत फर्किसक्ने छन् ।
त्यस्तै उनले यसैहप्तामा नै करिब करिब ४०० भारतीयले इराक छोडेको जानकारी पनि गराएका छन् । उनका अनुसार सो प्रबन्ध इराकमा रहेका भारतीय कूटनीतिज्ञले मिलाएका छन् । रासस÷एएफपी














प्रतिक्रिया