कञ्चनपुर, २१ असार । एसियाली विकास बैंक (एडिबी)को अनुदानमा कञ्चनपुरको दैजी–३ बछेलामा सामुदायिक उपसिँचाइ आयोजना निर्माण भएको छ । बैंकको अनुदान २३ लाख २८ हजार र नेपाल सरकारको पाँच लाख ४६ हजारमा आयोजना निर्माण गरिएको हो ।
आयोजना निर्माणका लागि स्थानीय बासिन्दाले पाँच लाख ४९ हजार बराबरको जनश्रमदान गरेका छन् । आव ०७०/७१ को असोज महिनादेखि आयोजना निर्माणको कार्य सुरु गरिएको थियो ।
आयोजना निर्माण भएपछि पोल्खरी र धर्मपुरका २ सय ६२ बासिन्दाको १ सय ३४ दशमलव ३ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको बछेला सामुदायिक उपसिँचाइ आयोजनाका अध्यक्ष प्रेमबहादुर साउदले बताए । सिँचाइ आयोजनाको मुख्य कुलोको लम्बाइ एक हजार ७ सय ९० मिटर रहेको छ । शाखा कुलोको लम्बाइ दुई हजार ४ सय १० मिटर रहेको छ ।
आकाशे पानीको भरमा खेती गर्दै आएका यस क्षेत्रका बासिन्दा आयोजना निर्माण भएपछि मौसमी, बेमौसमी तरकारीखेती र नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् ।













प्रतिक्रिया