झापा, १५ मंसिर । राष्ट्रिय महिला आयोगका सदस्य उर्मिला विश्वकर्माले ‘देहव्यापारलाई कानुनी मान्यता दिदै सरकारले रेडलाईट एरिया तोक्नुपर्ने’ बताउनु भएको छ ।
आयोगका सदस्य विश्वकर्माले आज मंगलबार झापा भद्रपुरमा आयोजित महिला हिंशा न्यूनिकरणका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । उहाँले ‘विश्वका ठूला तथा सम्पन्न राष्ट्रहरुमा पनि रेडलाइट एरिया छुट्याउने गरेको’ चर्चा गर्दै भन्नुभयो, ‘उनीहरुले गरेको व्यवसाय सुरक्षित र कानुनी मान्यता पाएपछि राज्यले कर समेत पाउने छ ।’ उहाँले जबसम्म महिला आर्थिक स्वावलम्वन हुन सक्दैनन् तबसम्म महिला हिंशा नरोकिने दावी गर्नुभयो ।

‘घर शान्ति नै विश्व शान्तिको आधार पुनर्निर्माण, शिक्षा र समान अधिकार’ मूल नाराका साथ लैङ्गिक हिसाविरुद्धको १६ दिने अभियानको क्रममा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले घरभित्रका हिंसा बाहिर ल्याउन निक्कै चुनौतिपूर्ण रहेको बताउनुभयो । सोही समारोहमा झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले झापा, मोरङ, सुनसरी, इलाममा आत्म हत्याका घटनाहरु बढी रहेको बताउँदै ती घटनाको सम्वन्धमा अनुसन्धान गर्ने होभने महिला हिंसा र गरिवी अभावजस्ता कारण भेटिन सक्ने दावी गर्नुभयो ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला अधिकृत ईन्दिरा ओझाले झापामा लैङ्गिक हिंसाको स्थिति र हिंसा विरुद्ध गरिएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले उपस्थित सबैले हिंसा नगर्ने, गर्न नदिने र हिंसा गर्नेलाई कार्वाहीको घेरामा ल्याउने प्रतिबद्धता जाहेर गर्ने होभने लैङ्गिक हिंसा अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला संघसंस्थाहरुले लैङ्गिक हिंसा न्यूनिकरणका लागि राज्यको उपस्थिति बलियो हुनुपर्ने बताउनुभयो ।















प्रतिक्रिया