१२ कार्तिक २०८३, बिहिबार

दोलखाका डेढ दर्जन कार्यालय प्रमुखविहीन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaदोलखा, १५ मङ्सिर । भूकम्प र इन्धन अभावका कारण चरम समस्या भोगिरहेका दोलखाका भूकम्पपीडित विभिन्न डेढ दर्जन सरकारी कार्यालयका प्रमुख नहुँदा झन् पीडामा परेका छन् ।

इन्धन अभावका कारण यातायातको असुविधा र बल्ल बल्ल सदरमुकाम आइपुगेका भूकम्प पीडित कार्यालय प्रमुख नहुँदा झनै समस्यामा परेका हुन् । एक कर्मचारीका अनुसार यसरी ठूलो सङ्ख्यामा कार्यालय प्रमुख जिल्लामा नभएको यो पहिलो पटक हो ।

विगत तीन दिनदेखि डेढ दर्जन कार्यालयका कार्यालय प्रमुख नहुँदा पुरिएका कागजपत्र, नागरिकता तथा अन्य सरकारी कागजात बनाउन आउनेले आर्थिक, समयको बर्बादी, तथा मानसिक तनाव बेहोर्न बाध्य भएको उत्तरी दुर्गम बुलुङ–९, खानीबाट भूकम्पपीडित मृत्यु राहत लिन आएका गणेशबहादुर श्रेष्ठले गुनासो गर्नुभयो ।

कार्यालय प्रमुख नहुँदा विभिन्न राहत, विकासका कामका सम्झौता, पेश्की फछ्र्यौट, भुक्तानी, इष्टिमेटलगायतका कार्यमा प्रत्यक्ष असर पुगेको सम्बन्धित कार्यालयका कर्मचारी नै बताउँछन् ।

सरकारी वकिल नहुँदा सरकारवादी मुद्दा फछ्र्यौट गर्न कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । प्रमुखविहीन भएका सरकारी कार्यालयमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, डिभिजन सडक, विद्युत्, भीमेश्वर नगरपालिका, सरकारी वकिल, प्राविधिक कार्यालय, जिरी नगरपालिका, निर्वाचन कार्यालय, सहरी विकास तथा भवन निर्माण डिभिजन, मालपोत, जिरी अस्पताल, पशु विकास फर्म जिरी, बागवानी फर्म बोच, भु–संरक्षण, वन, कृषि, टेलिकमलगायतका कार्यालय छन् ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मातहतका कर्मचारीलाई जिल्ला नछोड्न निर्देशन दिएलगत्तै आफू भने एकहप्ताका लागि विदामा बस्नुभएको छ । विभिन्न कार्यालय स्रोतका अनुसार एकसातादेखि कार्यालय प्रमुखहरु सहसचिवको परीक्षाका लागि भन्दै विदामा बसेका छन् । रासस