डोल्पा, २१ असार । डोल्पा जिल्ला त्रिपुराकोट गाविस वडा नं ४ मा निर्माण कार्य भइरहेको श्री त्रिपुरा माध्यमिक विद्यालयको १० कोठे भवन यतिखेर अलपत्र परेको छ ।
गाउँ विकास समिति कार्यालय त्रिपुराकोटको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको आठ लाख आर्थिक सहयोगमा निर्माण कार्य भइरहेको हो ।
विद्यालय भवनको आधाजति निर्माण कार्य भइसकेपछि जिल्ला शिक्षा कार्यालयले अनुदान दिने भनेको आठ लाख रकममध्ये चार लाख मात्र दिने भनेपछि उक्त भवनको निर्माण कार्य अलपत्र परेको हो ।
डोल्पा जिल्लाको मात्र नभइ नेपालभरि नै यस्ता सहयोग रकम उपलब्ध नभएकाले शिक्षा कार्यालयले रकम उपलब्ध नगराएको सहायक जिशिअ सामन्तमणि आचार्यले बताए ।
उक्त अनुदान उपलब्ध नहुँदा आधाजति निर्माण कार्य भएको भवन वर्षायाम सुरु भएकाले भत्कने डर भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर बुढाले बताए । उनले विद्यार्थीलाई पढ्न लेख्नसमेत असहज भइ रहेको उल्लेख गरे ।













प्रतिक्रिया