रुकुम, १५ मङ्सिर । जिल्ला स्वास्थ्य कार्यालय रुकुममा आपत्कालीन औषधिको अभाव भएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दी र तराईमा भएको मधेसी मोर्चाको आन्दोलनले रुकुममा पनि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा अहिले आपत्कालीन औषधिको अभाव हुँदा बिरामी समस्यामा परेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
अति आवश्यक पर्ने औषधि केही मात्रमा रहेकाले नियमित औषधि प्रयोग गर्ने बिरामी ठूलो समस्यामा परेका छन् । यस्तै सुत्केरी भएपछि हुन सक्ने सम्भावित रक्तस्राव रोक्न प्रयोग हुने औषधि अक्सिटोसिनको पनि अभाव देखिएको छ । यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ ।
उक्त औषधिले केही दिनलाई काम चल्ने र धेरै दिन नपुग्ने स्वास्थ्य संस्थाको भनाइ छ । सुत्केरी हुँदा प्रयोग हुने पञ्जा पनि सबै सकिएको कार्यालयले जनाएको छ ।
देशभर दैनिक करिब दुई हजारभन्दा बढी सुत्केरी हुने गर्छन् । अक्सिटोसिन सकिएपछि सुत्केरीको अत्यधिक रक्तस्राव भई ज्यान जान सक्ने सम्भावना हुन्छ ।
सर्वाेत्तम पिठो
यसैबीच बाँफिकोट गाविसको छिन्खेतका बालबालिकाका लागि महिलाहरुले गाउँमै सर्वोत्तम पीठो उत्पादन गरेर बालबालिकालाई कुपोषित हुनबाट बचाएका छन् । उत्पादन गरेको सर्वोत्तम पिठो विभिन्न ठाउँमा खपत हुन थालेको छ । एक वर्षयता बच्चालाई निरोग बनाउनका लागि स्थानीय उत्पादनलाई जम्मा गरी सर्वोत्तम पिठो उत्पादन गरिएको हो ।
सामान्य तालिम पाएका सिर्जनशील महिला कृषक समूहका महिलाले शिशुका लागि लिटो बनाएर खुबाउने सर्वोत्तम पिठो जिल्लाभरि पु¥याउने गरेपछि उनीहरुको घरदैलोमा माग समेत बढेको छ ।
समूहका सचिव गोमा शाहीका अनुसार स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, गहुँ, कोदो जस्ता अन्न पिसेर पोकामा राखेर सस्तो मूल्यमा बिक्री गर्ने गरिएको बताउनुभयो ।
सर्वोत्तम पिठो उत्पादन केन्द्रलाई जिल्लामा व्यवस्थित गर्ने कुरामा सरोकार भएका निकायसमेत अहिले लागिपरेका छन् । सेभ ‘द चिल्ड्रेन’ र रुकुमेली समाज विकास केन्द्रको सहयोगमा महिलाले सर्वाेत्तम पिठो उत्पादन गरेका हुन् । रासस















प्रतिक्रिया