काबुल, २० असार । अफगानिस्तानमा स्थानीय तालिवानहरूका विरुद्धमा सुरक्षाबलले बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म गरेको कारबाहीको क्रममा ४४ तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।
अफगान गृह मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकाय समेतको सहभागितामा सो कारबाही जारी रहेको बताइएको छ ।
अफगानिस्तानको नान्गार्हार, कुन्दुज, लोगार, पाक्टिया र हेलमान्ड प्रान्तमा भएको कारबाहीको क्रममा ४४ आतङ्ककारीको मृत्यु हुनुको साथै छ जना घाइते र चार पक्राउ परेको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
त्यसैकारण पछिल्ला दिनहरूमा अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षाबलकै सहभागिता रहँदै आएको छ ।
तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ । सिन्ह्वा













प्रतिक्रिया