वीरगन्ज, २० असार । तीन वर्षअघिसम्म पर्सा हरपुुर–१ का अखिलेश्वरप्रसाद चौधरी गाउँघरमै खेतीपातीको काम गर्थे । बाह्रै महिना खेतबारी र ज्याला मजदुरीमा काम गर्दा पनि जीविकोपार्जनमा कठिनाइ हुन्थ्यो तर अहिले उनी माछापालन व्यवसाय सुरु गरेर आम्दानीको स्रोत बढाइरहेका छन् ।
‘पहिला धान, गहुँखेती गरेर केही गर्न सकिएन, त्यही खेतमा पोखरी निर्माण गरेर व्यावसायिक माछापालन सुरु गर्न थालेँ, चार पाँच गुणा आम्दानी बढ्न थाल्यो’, उनले भने, ‘साथीभाइ बिदेसिएका छन्, मैले घर बसेरै विदेशभन्दा बढी कमाउन थालेको छु ।’
‘कृषि विकास कार्यालय पर्साको प्राविधिक सहयोगमा गत वर्ष सात कट्ठा क्षेत्रफलमा नयाँ पोखरी बनाएर माछापालन व्यवसाय सुरु गरेँ’, चौधरीले भने, ‘पोखरीको माछा बिक्री गरेर एक वर्षमा नै झन्डै रु तीन लाख आम्दानी गर्न सफल भएको छु ।’
व्यावसायिक माछापालनबाट आम्दानी बढेपछि हौसिएका उनले यस वर्ष धानखेती गर्दै आएको १३ कट्ठा क्षेत्रफलमा व्यावसायिक माछापालनका लागि दुई वटा नयाँ पोखरी बनाएको बताए । परम्परागत धानखेतीभन्दा व्यावसायिक माछापालनबाट पाँच गुणा बढी आम्दानी लिन सकिन्छ, उनले भने, ‘आफ्नै खेतबारीलाई सदुपयोग गर्न सकेमा त्यो आर्थिक उपार्जनको राम्रो स्रोत बन्न सक्छ भन्ने उदाहरण म आफैँ बनेर देखाएको छु ।’













प्रतिक्रिया