काठमाडौँ, २० असार । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण जीवनीमा आधारित चलचित्र ‘जननायक विश्वेश्वरप्रसाद’को शुक्रबार छायाङ्कन शुभारम्भ गरिएको छ ।
बिपी चिन्तन प्रतिष्ठानले तयार गर्न लागेको उक्त चलचित्रको छायाङ्कन बिपी कोइरालाको पुख्र्यौली थलो दुम्जामा गरिएको हो । बिपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले बनाएको पुख्र्याैली घर र उक्त घर नजिकै रहेको कुशेश्वर मन्दिरमा औपचारिक रूपमा नरिवल फुटाएर प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो ।
कुशेश्वर मन्दिरबाटै बिपी कोइरालाले २००७ सालको जनक्रान्तिको औपचारिक सुरुवात २००३ सालमा गर्नुभएको भन्ने तथ्यले पनि यो मन्दिरलाई राजनीतिक रूपमा पनि एउटा ऐतिहासिक स्थलका रूपमा लिने गरिन्छ ।
सो अवसरमा अध्यक्ष भट्टराईले नेपाली जनताको स्वतन्त्रताका लागि आजीवन सङ्घर्ष गरेका कोइराला समग्र विश्व राजनीतिका अनुकरणीय व्यक्तित्व भएको बताउनुभयो ।
निर्माणाधीन चलचित्रमा बिपी कोइरालाको समग्र जीवनयात्रा तथा सङ्घर्षलाई जीवन्त रूपमा चित्रणको प्रयास गरिने उहाँको भनाइ थियो ।
करिब रु ८० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त चलचित्रको भाषा लेखन दीपेन्द्र दाहालले गर्नुभएको छ भने त्यसको व्यवस्थापन संयोजकमा कृष्ण केसी रहनुभएको छ ।
प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलका अनुसार बिपीका जीवनका महत्वपूर्ण पक्षलाई समावेश गरिएको उक्त चलचित्रलाई जम्मा ८१ वटा दृश्यमा विभाजन गरिएको छ ।
चलचित्रमा पूर्व राजाहरू त्रिभुवन, महेन्द्र, वीरेन्द्रसहित नेपाली राजनीतिमा बिपीका सहयात्री सुवर्णशम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मका व्यक्तित्वसँग जोडिएका घटनाक्रम समावेश गरिने उहाँले जानकारी गराउनुभयो । रासस














प्रतिक्रिया