तेह्रथुम, १७ असार । असार महिनाको मध्य बितिसक्दा समेत पर्याप्त पानी नपरेपछि कृषकहरु चिन्तित बन्न थालेका छन् । अहिले मुलुकका विभिन्न स्थानमा भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वासका साथ रोपाईँको चटारोलाई छाडेर जोडी भ्यागुता खोज्दै भ्यागुताको बिहे गर्ने चटारोले कृषहरुलाई छोपेको छ ।
सोहीक्रममा तेह्रथुम जिल्लाको जलजले गाविसका जनताले बाजागाजासहित एक जोडी भ्यागुताको धुमधामसँग बिहे गरिदिएका छन् । स्थानीयवासीले एक जोडी भ्यागुताको पूजापाठ गरी बिहे गरिदिएका हुन् ।
जलजले गाविस वडा नं ४ स्थित तीनधारे पानीको मुहानमा गाविसका वडा नं ४, ५ र ६ का कृषकहरु भेला भई भ्यागुताको बिहे गरिदिएका थिए । ‘भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले भ्यागुताको बिहे गरिएको हो,’ स्थानीयवासी इन्द्रकुमार नेपालीले बताउनुभयो । उहाँका अनुसार असार महिनाको आधा बितिसकेको छ । तर, यस क्षेत्रका १० प्रतिशत कृषकले मात्र धान रोपेका छन् ।
विगतका वर्षमा असार १५ सम्ममा जलजले गाविसमा ८० प्रतिशत धान रोपी सकिन्थ्यो । जिल्लाका अन्य गाविसमा पनि ५ देखि १० प्रतिशतमात्र धान रोपिएको कृषकले बताएका छन् ।
त्यस्तै, तमोर नदीले छोएका जिल्लाको १० वटा गाविसमा भने अहिलेसम्म फाटफुटमात्र रोपाइँ गरिएको फाक्चामारा गाविस वडा नं १ का कृषक सिद्घिमान लिम्बूले जानकारी दिनुभएको छ । पञ्चकन्या, फाक्चामारा, ओख्रे, म्याङलुङ, तम्फुला, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छाक्तेढुङ्गा र ईवा तमोर नदीले छोएका गाविस हुन् ।














प्रतिक्रिया