काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले तराईमा आन्दोलनरत दलहरूले जनताप्रतिको जिम्मेवारी बोध गरी आन्दोलनबाट भन्दा पनि संसदमा आएर आफ्ना बिचार राखी संसदबाटै समस्याको समाधान खोज्न अपील गरेको छ ।
संसदलाई सबै समस्याको समाधान खोज्ने थलोका रुपमा विकसित गरी पहिलो चरणमा संविधान संसोधनका लागि पहल गरी संसदबाट समाधान खोज्दा राष्ट्र र जनताप्रतिको जिम्मेवारी बहन हुने कांग्रेसको ठहर छ ।
‘संसदबाट खोजिने हरेक समाधानमा कांग्रेस तराई मधेसका जायज मागको सम्बोधन गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्दछु’, कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलद्वारा आज जारी अपीलपत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समावेशीता र समानुपातिक सहभागिता तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आगामी संसदको बैठकबाट पहल सुरु गर्ने निर्णयसमेत गरिसकेको जनाइएको छ ।
‘तराई मधेसमा जारी आन्दोलनले सिङ्गो मुलुक आक्रान्त बनेको छ’, अपीलमा भनिएको छ, ‘तराई मधेसमा जारी आन्दोलनले आमनागरिकको जीवनयापन समेत कष्टकर बन्दै गएको छ ।’
‘कांग्रेस तराई मधेसमा देखिएका समस्या समाधानका लागि सधै तयार रहेको जानकारी गराउँदै कांग्रेस नेतृत्वको सरकारले अन्तरिम संविधानमा समावेश भएका तर संविधानसभाबाट जारी नयाँ संविधानमा छुटेका समावेशीता र समानुपातिक सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराइसकेको समेत स्मरण गराउन चाहन्छु’, पौडेलले भन्नुभएको छ ।















प्रतिक्रिया