लहान, १९ कात्तिक । छिमेकीलाई बोक्सीको आरोप लगाउँदै यातना दिएको आरोपमा पक्राउ परी पुर्पक्षका लागि सिरहा कारागारमा थुनामा रहेका एक वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको गाढा–७ का ६५ वर्षीय महावीर सहनी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिनुभयो । मध्यरात अचानक रक्तचाप बढेपछि जिल्ला अस्पताल पु¥याएर उपचार सुरु गरिएपनि आज बिहान २ बजेतिर सहनीको मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
मृतक सहनी जिल्ला अदालतको आदेशअनुसार २०७२ असोज ११ गतेदेखि पुर्पक्षका लागि थुनामा रहिआएका थिए । सहनीसँगै सोही मुद्दामा उनकी बुहारीहरु इन्दुदेवी सहनी र जनकदुलारी सहनी पुर्पक्षका लागि थुनामा रहेको कारागार प्रशासनले जनाएको छ ।
गत साउन २५ गते महावीरका नाति १४ वर्षीय सुन्दर सहनीको उपचारका क्रममा धरानमा मृत्यु भएको करिब एक महिनापछि भदौ २२ गते उनीसहित दुइटी बुहारी, आफन्त राकेश सहनी मिलेर धामीझाँक्रीको कामसमेत गर्दै आएका छिमेकी रामसुफल यादवलाई निर्घात कुटपिट गर्दै मलमूत्रसमेत खुवाएका थिए ।
प्रहरीले घटनाको जानकारी पाएलगत्तै चारजनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको भए पनि अदालतले राकेशलाई भने छाड्ने आदेश दिएको थियो । रासस















प्रतिक्रिया