नेपालगन्ज, १७ कात्तिक । मधेस आन्दोलन र भारतीय नाकाबन्दीको कारण पश्चिम नेपालमा औषधीको चरम अभाव सिर्जना भएको छ ।
स्लाइन, शल्यक्रिया गर्ने सामग्रीदेखि क्षयरोग, औलो, उच्च स्तरका एन्टिवायटिक औषधीहरु पाइन छाडेका छन् । भेरी अञ्चल औषधी व्यवसायी संघका अध्यक्ष अभय कुमार वस्नेतले भारतबाट आउने ९० प्रतिशत औषधी पाइन छाडेको बताए । उनले भने, ‘भारतमा निर्मित ९० प्रतिशत औषधी उपलब्ध हुन सकेको छैन ।’
अध्यक्ष वस्नेतले नेपालमा उत्पादित औषधी समेत ५० प्रतिशत मात्र रहेको बताए । उनले भने, ‘लाइसिस जस्तो सामान्य औषधी समेत पाइन छाडि सक्यो । काठमाडौँ र वीरगन्जमा उत्पादित औषधी समेत इन्धन अभाव भन्दै आउन सकिरहेको छैन ।’
अध्यक्ष बस्नेतले १० दिन भित्र कुनै व्यवस्था हुन नसके पसल नै बन्द गर्नु पर्ने अवस्था आउने बताए । उनले औषधीको अभावले डरलाग्दो अवस्था सिजना हुने बताउँदै भने, ‘यस्तै अवस्था रहे थोक र खुद्रा सबै औषधी पसल हप्ता दिन भित्र बन्द हुनेछन् ।
पश्चिम नेपालमा आउने सबै औषधी वीरगन्ज नाकाबाट आउने गरेको छ । ओजन र पिडिपिएल भारतीय कम्पनीको औषधी मात्रै नेपालगन्ज नाकाबाट भित्रिने गरेको छ ।
अभावको कारण माग अनुसार गाउँ–गाउँका खुद्रा पसललाई औषधी दिन नसकेको व्यवसायी पूर्णदेव गिरीले बताए । उनले मागको एक चौथाई औषधी मात्र उपलब्ध गराउन सकेको बताए । उनले भने, ‘खुद्रा पसलेले ४ किसिमको औषधी माग्यो भने एक किसिमको मात्र दिन सकेका छौँ ।’
गाउँ–गाउँमा औषधी लिन आएकाहरु खुद्रा पसलेलाई फर्काउनु परेको औषधी व्यवसायी गिरीले बताए । उनले भने, ‘मैले दिनहँु २÷४ जनालाई फर्काइरहेको छु ।’
औषधी जस्तो सम्वेदशील वस्तु सरकार र आन्दोलनरत दुवै पक्ष जिम्मेवार हुन भेरी अञ्चल औषधी व्यवसायीले आग्रह गरेका छन् ।
आन्दोलनकारीलाई समेत औषधी आवश्यक पर्ने भएकाले औषधी आयातमा अवरोध नगर्न उनले आग्रह गरेका छन् । ‘ट्रकमा ब्यानर टाँगेर भएपनि औषधी ल्याउनु पर्छ र जिल्ला जिल्लामा पुरयाउनु पर्छ होइन भने केही दिन भित्र औषधीको हाहाकार हुन्छ,’ अध्यक्ष वस्नेतले भने, ‘आन्दोलनकारी, सरकार र सर्वसाधारण सवैलाई चाहिने अति नै आवश्यक कुरा हो औषधी ।’
उनले औषधी र औषधीको कच्चा पदार्थ ल्याउन आन्दोलनकारीले समेत सहयोग गर्नुपर्ने बताए । नेपालमा सञ्चालित औषधी उद्योगहरुले समेत कच्चा पदार्थ अभावका कारण आवश्यक मात्रामा औषधी उत्पादन गर्न सकिरहेका छैनन् ।
कच्चा पदार्थ पनि भारत लगायतका बाहिरी मुलुकबाट आउने भएका कारण औषधी उत्पादन समेत प्रभावितग भएको अध्यक्ष वस्नेतले बताए ।















प्रतिक्रिया