काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी भई ६० वर्ष लामो राजनीतिक सङ्घर्ष समाप्त भएकाले अब आर्थिक उन्नति र विकासको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आज यहाँ आयोजना गरेको ‘श्रमिक र नयाँ संविधान’ विषयक प्रवचन कार्यक्रम एवम् राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पाँचौँ बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“संविधान जारी भएपछि संवैधानिकरुपमा सबै असमानता हटेको छ, अब समृद्धितर्फको साझायात्रामा अघि बढ्नुपर्छ, ट्रेड युनियनहरु पनि समृद्धितर्फको दिशामा लाग्नुपर्छ, संविधानमा केही नमिलेका कुरा संशोधनमार्फत् मिलाउन सकिने भएकाले सबै दलले यसमा साथ दिनुपर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
संविधान नेपालीका लागि नेपालीले बनाएकाले कुनै मित्रविरुद्ध नेपालको संविधान नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो–“कसैले यसमा चित्त दुखाउनुपर्ने अवस्था छैन, ९६ प्रतिशतलाई वास्ता नगरी चार प्रतिशतले भनेको नै लोकतन्त्र हो भन्ने मान्यता बदल्नुपर्छ ।”
तराईमा आन्दोलन गरिरहेका दललाई जिद्दी छोडी लचिलो भएर वार्ताबाट समस्या समाधान गर्न तत्पर भएको सरकारलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो । आन्दोलनले मुलुकलाई खर्बौको नोक्सान भएकाले जिम्मेवार हुन तराईमा आन्दोलनरत दललाई प्रधानमन्त्री ओलीले अनुरोध गर्नुभएको थियो । “विकास निर्माणमा दृढतापूर्वक लाग्न सरकार प्रतिबद्ध छ, यसका लागि सरकार सुदृढ र गतिशील कदम चाल्ने पक्षमा छ”–उहाँले भन्नुभयो ।















प्रतिक्रिया