– भोलाराज पौडेल
नुवाकोट, १६ कात्तिक । पेट्रोलियम पदार्थ सहजरुपमा पाउन नसकेपछि नुवाकोट र रसुवाका यात्रुवाहक यातायातका साधनहरु आजदेखि बन्द भएका छन् ।
काठमाडौंबाट नुवाकोटसहित रसुवामा यात्रु बोक्दै आएका बस तथा माइक्रोबस सेवाहरु डिजेलको अभावमा बन्द भएको पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले बताउनुभयो । यस अघि स्थानीय प्रशासनले दैनिक एक हजार दुई सय लिटर इन्धन उपलब्ध गराउँदै आएकोमा दशैं लगत्तै कोटा प्रणाली अन्त्य गरी लाइनमा राखेर इन्धन भर्नुपर्ने निर्णय गरेपछि वसहरु बन्द गर्नुको विकल्प नभएको खड्गीले बताउनुभयो ।
उहाँले डिजेल भएका केही सवारीले आज यात्रु बोके पनि भोलीबाट आपूर्ति सहज नभएसम्म यात्रुबाहक सवारी साधन सञ्चालन गर्न नसकिने बताउनुभयो ।
नुवाकोटमा पासाङल्हामु यातायात सेवा समितिले काठमाडौंबाट ४२ वटा, त्रिशूलीबाट ४२ वटा सवारी साधन नुवाकोट, रसुवा र धादिङसम्म सञ्चालन गर्दै आएको छ । यस्तै नेपाल माइक्रो र पासाङल्हामु माइक्रोबाट दैनिक २३÷२३ क्यू लगाउने गरिएकोमा अधिकांश यात्रुबाहक सवारी साधन आजदेखि सञ्चालन हुन नसक्ने समितिले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक साता अघिको वैठकमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, व्यवसायीसहितको निर्णयले सार्वजनिक यातायातका साधनलाई उपेक्षा गर्दै स्वतन्त्ररुपमा लाइनमा बसेर इन्धन भर्नुपर्ने जनाएपछि यातायात बन्द गर्नुको विकल्प नभएको अध्यक्ष खड्गीले बताउनुभयो ।
पासाङल्हामु यातायातका सेवा समितिका दैनिक सञ्चालन हुने ८४ क्यू वसका लागि दैनिक तीन हजार ६ सय लिटर डिजेल आवश्यक हुने भएपनि यस अघि एक हजार दुई सय लिटर इन्धन उपलब्ध हुँदै आएको थियो ।
यता, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले यात्रुबाहक वसहरु बन्द गराउने सोच स्थानीय प्रशासनको नभएको बताउँदै यात्रुबाहक वसले पाउने साविकको इन्धन लाइनमा बसेर मात्र प्राप्त गर्न सक्ने निर्णय भएको हुँदा सोही अनुसार गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
















प्रतिक्रिया