पाल्पा, १६ कात्तिक । जिल्ला प्रशासन कार्यालयबाट सेवा लिनेहरु अहिले बढेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेहरु दैनिक १०० देखि १२० सम्मको हुने गरेको कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रशासन कार्यालयबाट दैनिक ८० देखि १०० सम्म राहदानीको आवेदन बुझाउनेको भीड लागेको सहायक प्रमुख जिल्ला अधिकारी टङ्कप्रसाद पाण्डेले बताउनुभयो ।
गत महिनाको तुलनामा सेवा लिनेहरु दैनिक रुपमा बढेको हो । प्रशासन कार्यालयबाट नागरिकता लिनेहरुको निकै भीड बढेको छ भने विदेश पढ्ने र कामका लागि जानेका लागि राहदानीको आवेदन फारम भर्नेहरुसमेत बढेको छ ।
दसैँ आसपासमा यातायातको असहज र दसैँमा घरमा आएको मौका छोपेर यहाँका युवाले नागरिकता र राहदानी बनाउने गरेकाले नै भीड बढेको हो ।
सरकारले विदेश जानका लागि राहदानी बनाउन आउनेहरुलाई समेत नयाँ नागरिकता बनाएरमात्र राहदानीको आवेदन भर्ने व्यवस्था गरेपछि नागरिकता बनाउनेको सङ्ख्या बढेको हो ।
सेवा लिनेहरुको चाप बढेपछि यस कार्यालयका कर्मचारी भ्याइनभ्याई काम जुटेका छन् । रासस















प्रतिक्रिया