काठमाडौं, १५ कात्तिक । झण्डै तीन महिनादेखि तराई मधेसमा नाकाबन्दी र आमहड्ताललगायतका कार्यक्रम गरेर दैनिक जनजीवन अस्तव्यवस्थ बनाइ रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्तालाई उपलब्धिहीन र निष्कर्षविहनीको टिप्पणी गरेको छ ।
जनकपुरमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकपछि जारी विज्ञप्तिअनुसार वार्तालाई निरर्थकको संज्ञा दिइएको हो ।
‘सरकारले वार्ताद्वारा समस्या समाधान गर्नुको सट्टा वार्तालाई निरर्थक तथा उपलब्धिहीन र निष्कर्षविहीन बनाई वार्ताको नाटक मात्र रच्ने कार्य गरेको छ । वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वको सरकारी वार्ता टोलीले मधेसी मोर्चासँग वार्ता गर्दै आएको छ ।
मधेसी मोर्चाले राजमार्ग केन्द्रीत र सीमा नाकामा धर्ना दिने आन्दोलनका कार्यक्रम अझै सशक्त बनाउने निर्णय पनि गरेको छ ।
काठमाडौंमा सरकार र मधेसी मोर्चाको वार्ता चलिरहेका बेला मधेसी मोर्चाका शीर्ष नेताहरूले वार्तालाई प्रभावमा पार्ने गरी आज जनकपुरमा पत्रकार सम्मेलन गरेर निर्णय पनि सार्वजनिक गरेका हुन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी पक्षको व्यवहारलाई हेरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सरकारलाई मधेसका मुद्दाप्रति गम्भीर बन्न पनि आग्रह गर्नुभएको छ ।
सरकारले चीनबाट तेल ल्याएको विषयमा अध्यक्ष यादवले तराईको आन्दोलन नुन, तेल किन्ने बेच्ने आन्दोलन नभएको भन्दै मधेसको आन्दोलन राजनीतिक रहेको बताउनुभयो ।
उहाँले मधेसका मुद्दालाई राजनीतिक रुपमा समाधान खोज्नुपर्ने बताउनुभयो । ‘चीन र भारत दुबै छिमेकी हुन्’, यादवले भन्नुभयो, ‘कसैको पनि झण्डा जलाउनु हुँदैन ।’















प्रतिक्रिया