गुलरिया (बर्दिया), १५ कात्तिक । बर्दियामा गैंडा मारेको अभियोगमा मुद्दा लागेका दुई जना फरार अभियुक्त प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया बानियाभार–१ बस्ने ४० वर्षीय शेरे थारु र ३८ वर्षीय सागर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । गैंडा मारेको अभियोगमा रु ९० हजार जरिवाना र १२ वर्ष कैद तोकिएका फरार दुबै अभियुक्तलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय बानियाभारले पक्राउ गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाएको प्रहरीले जनाएको छ ।
यस्तै, भारतबाट चोरी निकासी पैठारी गरेर ल्याएर बेवारिसे अवस्थामा थुपारी राखेको रु एक लाख ६६ हजार ४८० बराबरको सालको काठ प्रहरीले जमुनी गाउँबाट बरामद गरेको छ ।
क्षेत्रीय अनुसन्धान व्यूरो र प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी टोलीले उक्त काठ बरामद गरेको हो । जमनी गाविस–४ पुरानो जमुनीगाउँस्थित आँप बगैँचा र जमुनी–७ को नेपाल–भारत दशगजा नजिक खेतको कच्ची बाटोमा थुपारी राखेको १० थान गोलिया तथा ९८३.२४ क्यूफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यसैगरी जमुनी–१ स्थित फुटाहाबाट भन्सार छली ल्याउँदै गरेको विभिन्न सामानसहित शनिबार ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पैँतिस बोरा डिएपी, सात बोरा युरिया मल, ११ थान साइकल, सात थान सिरक, २६ थान डसना, १२ थान सिरकको खोलसहित पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । रासस















प्रतिक्रिया