काठमाडौँ, १५ कात्तिक । नेपाली काँग्रेसले एक बिज्ञप्ति प्रकाशित गरी पार्टीका दुइजना प्रजातान्त्रिक योद्धाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
उहाँहरुको निधनबाट पार्टीले कुशल योद्धा गुमाएको भन्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १२ निवासी सुनबहादुर गुरुङको ७१ वर्षको उमेरमा शनिबार आफ्नै निवासमा निधन भएको पार्टी मुख्य सचिव ऋषिकेश तिवारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
विसं २०२८ सालदेखि काँग्रेसमा आबद्ध भई काँग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ उहाँ संलग्न हुनुहुन्थ्यो ।
यसैगरी पर्वत जिल्ला निर्वाचन क्षेत्र नं २, उराम गाविस निवासी पूर्णचन्द्र भुसालको ८१ वर्षको उमेरमा कात्तिक २ गते निधन भएको पार्टीले जनाएको छ ।
विसं २००७ को क्रान्तिदेखि काँग्रेसमा संलग्न रहनुभएका स्वर्गीय भुसाल काँग्रेस जिल्ला कार्यसमिति पर्वतको सदस्य, निर्वाचन क्षेत्र नं २ को पूर्व क्षेत्रीय उपसभापति, उराम गाउँ कार्यसमितिका पूर्व सभापति हुनुहुन्थ्यो । स्वर्गीय भुसाल राजनीतिक क्षेत्रमा संलग्न रहनुका साथै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध रहँदै आउनुभएको उल्लेख गरिएको छ । काँग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा उहाँ सक्रिय रुपले सहभागी हुनुभएको थियो । रासस















प्रतिक्रिया