१२ मंसिर २०८३, शनिबार

सहर व्यवस्थित बनाउने नाममा नागरिकको गाँस, बास र सम्मान खोस्न मिल्छ सरकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विमल सुवेदी

सेतोपाटी पत्रिकामा प्रकाशित भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरू आन्दोलित भएको समाचार र त्यहाँ राखिएका तस्वीरहरूले मेरो मन छोयो । विशेषगरी कलिला बालबालिकाका अनुहार, अभावमा बाँचिरहेका परिवार र आफ्नो भविष्यको सुनिश्चितता खोजिरहेका नागरिकका दृश्यले केही लेख्न बाध्य बनायो ।

वर्तमान सरकारले अघि सारेका काममध्ये सहरका सार्वजनिक पार्क, चौर, नदीकिनार तथा अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा बसोबास गरिरहेका बस्ती हटाउने अभियान पनि एक हो । सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने तथा राज्यको सार्वजनिक सम्पत्ति संरक्षण गर्ने उद्देश्यले चालिएको यो कदमबारे त्यतिबेला पनि पक्ष र विपक्षमा बहस भएका थिए ।

वास्तवमा सार्वजनिक सम्पत्ति संरक्षण गर्नु राज्यको दायित्व हो । सार्वजनिक जग्गा अतिक्रमणमुक्त हुनुपर्छ र सहर व्यवस्थित हुनुपर्छ । वास्तविक सुकुम्बासीका नाममा कतिपय पहुँचवाला तथा राजनीतिक स्वार्थ बोकेका व्यक्तिले सार्वजनिक जग्गा कब्जा गर्ने र वास्तविक भूमिहीनका समस्यालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको छ । यसलाई नियन्त्रण गर्नु आवश्यक छ ।

तर प्रश्न सरकारको उद्देश्यमा मात्र होइन, त्यसको कार्यान्वयनमा छ ।

सार्वजनिक जग्गा खाली गराउनु सरकारको अधिकार र दायित्व हुन सक्छ, तर त्यहाँ आश्रित नागरिकलाई कहाँ राख्ने भन्ने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन ।

बस्ती हटाउनुअघि नै वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक आवासको व्यवस्था गरिएको भए सरकारको कदमले सार्थकता पाउँथ्यो । तर आवासको सुनिश्चितताबिना नागरिकलाई विस्थापित गर्नु र महिनौँसम्म उनीहरूलाई अनिश्चिततामा राख्नु सरकारको गम्भीर कमजोरी हो ।

समस्या समाधान गर्ने नाममा नागरिकलाई एउटा ठाउँबाट हटाएर अर्को ठाउँमा अभाव र असुरक्षाको अवस्थामा पुर्‍याउनु समाधान होइन ।

नागरिक राज्यका हुन्, सरकारका होइनन्

हामीले बुझ्नुपर्ने कुरा के हो भने राज्य कुनै दल, नेता वा सरकारको निजी सम्पत्ति होइन । राज्य जनताको साझा संस्था हो । सरकार त्यसलाई सञ्चालन गर्ने अस्थायी जिम्मेवार निकाय मात्र हो ।

सरकार परिवर्तन हुँदैमा नागरिकको अधिकार परिवर्तन हुँदैन । सरकारको निर्णयसँग असहमति राख्दैमा नागरिकले पाउने आधारभूत अधिकार समाप्त हुँदैन । राज्यले आफ्ना नागरिकलाई संरक्षण, सुरक्षा र सम्मान दिनुपर्छ । विशेषगरी आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकको संरक्षण गर्नु सरकारको थप जिम्मेवारी हो ।

बोडेको होल्डिङ सेन्टरमा रहेका परिवारको अवस्था यही सन्दर्भमा गम्भीर छ । सेतोपाटीको समाचारअनुसार त्यहाँ १९ परिवारका ५९ जना रहेका छन्, जसमा १७ जना बालबालिका छन् । आवासको सुनिश्चितता नभएको अवस्थामा होल्डिङ सेन्टर खाली गराउने समयसीमा तोकिनु र उनीहरूले पाउँदै आएको खानासमेत बन्द भएको समाचार आउनु मानवीय दृष्टिले गम्भीर विषय हो । यसबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्छ ।

कुनै पनि नागरिकलाई आफ्नो देशमा अनागरिकजस्तो व्यवहार गर्न मिल्दैन । अझ आफ्नै देशका नागरिकले गाँस, बास र सुरक्षाको सुनिश्चितता खोज्दा राज्यले उनीहरूको पीडा सुन्नुपर्छ, बेवास्ता होइन ।

बालबालिकाको भविष्यप्रति राज्य किन संवेदनशील छैन ?

भनिन्छ, आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन् । तर बालबालिकालाई कर्णधार बनाउने काम भाषण र नाराले मात्र सम्भव हुँदैन । उनीहरूलाई शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र बालमैत्री वातावरण चाहिन्छ ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको तस्वीर हेर्दा स्वाभाविक प्रश्न उठ्छ– उनीहरूको आजको खाना कसले जुटाउँछ ? शिक्षा कसरी निरन्तर हुन्छ ? बिरामी पर्दा उपचार कसले गर्छ ? उनीहरूको सुरक्षित भविष्यको जिम्मेवारी कसले लिन्छ ?

बालबालिका अभिभावकको आर्थिक अवस्था वा सरकारको प्रशासनिक निर्णयका लागि जिम्मेवार हुँदैनन् । उनीहरूलाई वयस्कहरूको विवाद र व्यवस्थापकीय कमजोरीको मूल्य चुकाउन बाध्य पारिनु हुँदैन ।

भोक, अभाव र असुरक्षामा हुर्कन बाध्य बालबालिका बालश्रम, शोषण र अन्य सामाजिक जोखिममा पर्न सक्छन् । त्यसैले उनीहरूको संरक्षण दया वा कृपा होइन, राज्यको अनिवार्य दायित्व हो ।

बालबालिकालाई भविष्यका कर्णधार भन्ने हो भने उनीहरूको वर्तमान सुरक्षित बनाउने जिम्मेवारी पनि राज्यले लिनुपर्छ ।

सरकारलाई केही व्यावहारिक सुझाव

सुकुम्बासी समस्या राजनीतिक आरोप–प्रत्यारोपबाट होइन, तथ्य र दीर्घकालीन योजनाबाट समाधान हुनुपर्छ । त्यसका लागि सरकारले:

१. वास्तविक भूमिहीन र सुकुम्बासीको निष्पक्ष पहिचान गरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने र वास्तविक आवासविहीन नागरिकबीच स्पष्ट भिन्नता छुट्याउनुपर्छ ।

२. वास्तविक भूमिहीन परिवारलाई सुरक्षित र सम्मानजनक वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित गर्नु हुँदैन ।

३. पुनर्स्थापना नहुँदासम्म खाना, खानेपानी, स्वास्थ्य र सरसफाइजस्ता आधारभूत सुविधा निरन्तर उपलब्ध गराउनुपर्छ ।

४. विस्थापित परिवारका बालबालिकाको शिक्षा, पोषण र स्वास्थ्यमा कुनै अवरोध आउन दिनु हुँदैन ।

५. संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी पुनर्स्थापनाको स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्छ ।

६. वास्तविक सुकुम्बासीका नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्ने र उनीहरूको समस्यालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

अन्त्यमा, सरकारलाई केही प्रश्न

सहर सफा र व्यवस्थित बनाउने अभियान आवश्यक छ भने विस्थापित नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्नु आवश्यक छैन ? सार्वजनिक सम्पत्ति संरक्षण गर्नु राज्यको दायित्व हो भने त्यसको संरक्षणका क्रममा विस्थापित भएका वास्तविक भूमिहीनको जीवन संरक्षण गर्ने जिम्मेवारी कसको हो ?

होल्डिङ सेन्टर खाली गराउने निर्णय गर्दा त्यहाँ आश्रित बालबालिका, वृद्धवृद्धा र असहाय परिवारको भविष्यबारे सोचिएको छ कि छैन ?
सरकारले यी प्रश्नको जवाफ दिनुपर्छ। नागरिकले राज्यसँग दया मागेका होइनन्, आधारभूत अधिकार र सम्मानजनक जीवनको सुनिश्चितता खोजेका हुन् ।

मेरो भनाइ यत्ति हो– सहर व्यवस्थित हुनुपर्छ, सार्वजनिक सम्पत्ति संरक्षण हुनुपर्छ र अव्यवस्थित बस्तीको उचित व्यवस्थापन हुनुपर्छ । तर त्यो अभियान मानवीय संवेदनाविहीन हुनु हुँदैन । विकास र व्यवस्थापनको नाममा कसैको जीवन उजाडिनु हुँदैन। प्रशासनिक निर्णयको भार निर्दोष बालबालिकाको काँधमा बोकाउनु हुँदैन ।

सरकारले सार्वजनिक जग्गा जोगाउनुपर्छ, तर त्यहाँबाट विस्थापित भएका नागरिकको जीवन पनि जोगाउनुपर्छ । सहरको सुन्दरता ठूला भवन, चिल्ला सडक र सफा पार्कले मात्र मापन हुँदैन। त्यहाँ बस्ने नागरिक कति सुरक्षित, सम्मानित र खुसी छन् भन्ने कुराले पनि सभ्यता मापन हुन्छ ।

आजका बालबालिकाको हातमा रित्तो थाल होइन, किताब र कलम हुनुपर्छ । उनीहरूको आँखामा अभाव र त्रास होइन, उज्ज्वल भविष्यको सपना हुनुपर्छ । नागरिकलाई विस्थापित गरेर मात्र सहर व्यवस्थित हुँदैन; नागरिकको अधिकार र सम्मान सुरक्षित गरेर मात्र सभ्य र समृद्ध सहर निर्माण हुन्छ ।

(लेखक सुवेदी नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका महासमिति सदस्य हुन् ।)