काठमाडौं । काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबस फेला पार्न प्रहरीले सफल भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएपछि प्रहरीले खोजी अभियान सुरु गरेको थियो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर २ गते कलंकीबाट उक्त माइक्रोबस बरामद गरेको हो । त्यसपछि चोरीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा शनिबार बिहान करिब १०ः३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल कलंकी बस्दै आएका ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर पाँच दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया