१ मंसिर २०८३, मंगलबार

महेन्द्र सिंह धोनीले लिए आईपीएलबाट सन्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले आईपीएल क्रिकेटबाट सन्यास लिएका छन् ।

आईपीएलमा चेन्नई सुपर किङ्स (सीएसके)का पूर्वकप्तान समेत रहेका ४५ वर्षीय धोनी अब टिममा मेन्टरको भूमिकामा रहेन सीएसकेले जनाएको छ ।

‘महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सको टिम मेन्टर (टोली सल्लाहकार)का रूपमा जिम्मेवारी सम्हाल्दै छन् । अनगिन्ती जितहरू, चुनौतीपूर्ण समयहरू र सधै हाम्रो हृदयमा रहने यादहरूका साथ एमएस सुरुदेखि नै हाम्रो यात्राको केन्द्रबिन्दु रहँदै आएका छन् ।’ सीएसकेले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीलाई गौरवको शिखरसम्म पुर्‍याउनुदेखि लिएर सुपर किंग्सको अर्को पुस्तालाई मार्गदर्शन गर्नेसम्म– थाला सधैं हाम्रो पहिचानको हिस्सा रहनेछन् । र, चेन्नई सधैं उनको घर रहनेछ ।’

भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीलाई क्रिकेट जगतमा महान् खेलाडीमध्ये एक मानिन्छ ।

यसअघि अघिल्लो सिजनको आईपीएल उनले चोटका कारण खेलेका थिएनन् ।

धोनीले चेन्नईलाई पाँच उपाधि दिलाएका छन् ।

धोनीको कप्तानीमा भारतले तीन प्रमुख आईसीसी ट्रफी जितेको छ । उनको कप्तानीमा भारतले सन् २००७ को आईसीसी टी–२० विश्वकप, २०११ को एकदिवसीय क्रिकेट विश्वकप र २०१३ को आईसीसी च्याम्पियन्स ट्रफी जितेको हो ।

धोनीकै कप्तानीमा भारत सन् २००९ मा पहिलोपटक टेस्टमा नम्बर १ बनेको थियो ।

धोनीले २३ डिसेम्बर २००४ मा बंगलादेश विरुद्धको एकदिवसीय खेलबाट आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए ।

धोनीलाई २००७ मा भारतको टी–२० कप्तान बनाइएको थियो । धोनीले आफ्नो कप्तानीमा २००७ मा भारतलाई टी–२० विश्वकपको उपाधि जिताएका थिए । यसपछि धोनीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । धोनीले २००८ मा पूर्णकालीन कप्तानको जिम्मेवारी सम्हालेका थिए ।

डिसेम्बर २०१४ मा धोनीले अचानक टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे । धोनीले २०१७ को सुरुमा एकदिवसीय र टी–२० कप्तानीलाई पनि बिदाइ गरे ।

अगस्ट २०२० मा धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । धोनीलाई अन्तिम पटक २०१९ को विश्वकपको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको देखिएको थियो ।