१ मंसिर २०८३, मंगलबार

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौंपटक सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । नवौंपटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे । उक्त सम्मान बैंकको सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाणकुमार चौधरीले बैंकका तर्फबाट ग्रहण गरे ।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए ।

उनले भने, “यस सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौँ ।”

बैंकको यो योगदान व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीको समेत प्रतिबिम्ब हो । बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको छ ।

सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।

चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै बैंकले डिजिटल सेवाको विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्धता व्यक्त गरेको छ ।