काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् खरिद गर्न स्वीकृति दिएको हो।
प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ सम्म उक्त अनुमति पाएको छ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ। विभिन्न चारवटा १३२ केभी प्रसारण लाइनमार्फत ३५० मेगावाट विद्युत् ल्याउन सकिने व्यवस्था छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार यो अनुमतिले आगामी हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापन सहज बनाउनेछ। रसुवाको भोटेकोशी हुँदै आएको हिमबाढीले जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुर्याउँदा ४३१ मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रणालीबाट विच्छेद भएकाले पनि आयातको आवश्यकता बढेको छ।
प्राधिकरणको अनुमानअनुसार पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ भने उच्च मागको समयमा ८०० देखि ९०० मेगावाटसम्म आवश्यक पर्न सक्नेछ।
यस्तै, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ। आयात र निर्यात दुवैको अनुमति २०८४ साउन १५ सम्मका लागि रहेको छ।












प्रतिक्रिया