२८ कार्तिक २०८३, शनिबार

रास्वपाबाट टिकट पक्का गराइदिने भन्दै आर्थिक लेनदेन समेत हुन थालेको सुनेको छु : रवि लामिछाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए ।

लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् ।

उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए । जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले चुनाव नजिकिएसँगै मधेश प्रदेशमा रास्वपाको टिकटका लागि अग्रीम उम्मेदवारी घोषणा गर्नेहरुको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले कतिपय स्थानहरुबाट टिकट पक्का गराइदिने भन्दै आर्थिक लेनदेन समेत हुनथालेको भन्ने सुनेको बताए ।

लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुको सपना साकार नहुने बताए । उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे ।

कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन लामिछानेले आग्रह गरे । साथै, उनले त्यस्तो जानकारी दिने समेतलाई रास्वपाले पुरस्कार दिने उद्घोष गरे ।

सभापति लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अधिकार रास्वपाले मधेशलाई दिने प्रतिब्द्धता जाहेर गरे ।