काठमाडौं । छठ पर्वअन्तर्गत भोलि (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदैछ ।
लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवै तयारी गरिएको छ ।
काठमाडौंको गौरीघाट, कमलपोखरी, विष्णुमति लगायतका स्थानमा पूजास्थलको निर्माणका साथै अन्य व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।
विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको पछिल्लो समय काठमाडौं उपत्यकामा पनि उल्लास देखिन थालेको छ ।
चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।
पर्वको अन्तिम दिन सोमबार उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अर्घ्य दिँदै छठ पूजालाई विधिवत् रूपमा समापन गरिन्छ ।
व्रत समापन भएको अन्तिम दिन व्रतालुले गाउँ घरमा रहेका इनार, चापाकल, घरमा भएका सवारीसाधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदिमा पूजा गर्दै घर फर्किन्छन् ।
छठ पर्व मनाउँदा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वासका रहेको छ ।











प्रतिक्रिया