काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईले कला र संस्कृतिलाई नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
दक्षिण कोरियाको बुसानमा आयोजित ‘कोरिया–नेपाल समसामयिक कला आदानप्रदान प्रदर्शनी–२०२६’ लाई सम्बोधन गर्दै उनले भाषा र भूगोल फरक भए पनि कलाले दुई देशका नागरिकबीच भावना, विचार र अनुभव साटासाट गर्न सहज बनाउने बताए।
राईले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध आपसी मित्रता, सम्मान, सहयोग र साझा आकांक्षामा आधारित रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदानलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए। यसका लागि कलाकार, विद्यार्थी, युवा, प्राज्ञिक समुदाय तथा सांस्कृतिक संस्थाबीच नियमित सहकार्यका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।
उनले दक्षिण कोरियाली कलाकारका सिर्जना नेपालमा र नेपाली कला, संस्कृति तथा परम्परालाई कोरियामा प्रस्तुत गर्ने कार्यक्रम बढाउनुपर्ने बताए। दुई देशमा रहेका दूतावासले यस्ता गतिविधिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले उल्लेख गरे।
‘कला देश, भूगोल, भाषा र संस्कृतिका सीमाभन्दा माथि उठेर मानिसलाई मानिससँग जोड्ने माध्यम हो। हामीले कला र संस्कृतिलाई दुई देशका जनतालाई जोड्ने मित्रताको पुलका रूपमा विकास गर्नुपर्छ,’ राईले भने।

प्रदर्शनी केवल कलाकृति अवलोकन र प्रशंसामा सीमित नभई दुई देशका संस्कृति, भावना, विचार र साझा आकांक्षा बुझ्ने अवसरसमेत भएको उनले बताए। नेपाल र दक्षिण कोरिया भौगोलिक रूपमा टाढा रहे पनि दुवै देशबीचको आत्मीय सम्बन्धले दूरीलाई नजिक बनाएको उनको भनाइ थियो।
कार्यक्रममा राईले नेपालको सांस्कृतिक विविधता र सामाजिक सद्भावबारे पनि चर्चा गरे। विभिन्न धर्म, समुदाय र परम्पराका मानिस आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वका साथ बसोबास गर्नु नेपालको विशेषता रहेको उनले बताए। विविधताबीचको एकता र पारस्परिक सम्मान नेपाली समाजको महत्वपूर्ण पहिचान भएको उनको भनाइ थियो।
नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चर्चा गर्दै उनले हिमाल, पहाड र तराईको भौगोलिक विविधता, नदी, वन, जैविक सम्पदा र ऐतिहासिक धरोहरले नेपाललाई आकर्षक गन्तव्य बनाएको बताए। नेपाल पर्यटनका लागि मात्र नभई अध्ययन, अनुसन्धान तथा प्रकृति र मानव सभ्यताको विविधता बुझ्न चाहनेहरूका लागि पनि महत्वपूर्ण देश भएको उनले उल्लेख गरे।
यस अवसरमा राईले दक्षिण कोरियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रहसमेत गरे। बुद्धको जन्मस्थल लुम्बिनी, हिमालदेखि तराईसम्मको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र नेपाली समाजको आत्मीयता अनुभव गर्न उनले कोरियाली नागरिकलाई निमन्त्रणा दिएका थिए।
राईले जलवायु परिवर्तन, वातावरण प्रदूषण, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको संरक्षण विश्वकै साझा चुनौती बनेको बताए। प्रकृति कुनै एउटा देशको मात्र सम्पत्ति नभई समग्र मानवजातिको जीवनसँग जोडिएको साझा आधार भएकाले यसको संरक्षण सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे।
कलाकारले आफ्ना सिर्जनामार्फत प्रकृतिको महत्व, मानव जीवनसँगको सम्बन्ध र वातावरण संरक्षणको आवश्यकताबारे समाजमा प्रभावकारी सन्देश प्रवाह गर्न सक्ने उनको विश्वास थियो। भावी पुस्ताका लागि सुरक्षित पृथ्वी निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।











प्रतिक्रिया