रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते जेलमुक्त हुने भएका छन्। ज्येष्ठ नागरिकका रूपमा पाउने कानुनी सुविधाअनुसार उनको कैद अवधि घटेपछि रिहाइको बाटो खुलेको हो।
६५ वर्ष उमेर पूरा भएको आधार देखाउँदै रायमाझीले कैद सजायमा छुट दिन माग गरी अदालतमा निवेदन दिएका थिए। ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाले कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधानअनुसार उनी रिहा हुन लागेका हुन्।
रायमाझीका निकटस्थ लिला केसीका अनुसार उनको रिहाइको समय कात्तिक २५ गते नै पुग्ने भए पनि प्रक्रिया पूरा गरी २६ गते बिहान कारागारबाट बाहिर ल्याउने तयारी छ। उनका अनुसार रायमाझीको बिगो रकमसमेत घटाएर १ हजार ६ सय कायम गरिएको छ।
यद्यपि, कारागारमुक्त भए पनि कानुनी व्यवस्थाअनुसार रायमाझी तत्काल निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्। उनी २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा लगातार विजयी भएका थिए। माओवादी राजनीतिबाट उदाएका रायमाझीले उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।
रिहाइपछि मुद्दाको थप प्रक्रिया भने जारी रहने बताइएको छ। केसीका अनुसार मुद्दा उच्च अदालतमा पुगेपछि त्यसको कानुनी निरूपण हुनेछ।












प्रतिक्रिया