–तेजन खड्का
काठमाडाैं । नेपाली सुगम संगीतका स्थापित गायक डम्बर नेपाली दुई दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । मोरङको सामान्य ग्रामीण परिवेशबाट काठमाडौंसम्मको संघर्षपूर्ण यात्रा तय गरेका उनले आफ्नो पहिलो चर्चित गीत ‘आज आकाशमा एउटा तारा देखिनँ’मार्फत श्रोतामाझ छुट्टै परिचय बनाए ।
त्यसयता ‘तर अन्तिमपल्ट भेट्न आऊ’, ‘कि छाड उसलाई’, ‘बिग्रेको मान्छे म’, ‘तिम्रो पाउजु बजेर’, ‘भेट्न मन लाग्छ तिमीलाई’ लगायतका गीतले उनलाई नेपाली सुगम संगीतका लोकप्रिय गायकका रूपमा स्थापित गरेका छन् ।
समयसँगै संगीतको बजार, प्रविधि र प्रस्तुति बदलिँदै गए पनि डम्बर नेपालीले गुणस्तरीय संगीतप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै त्यागेनन् । उनी गीतलाई मनोरञ्जनको माध्यम मात्र नभई समाजको संस्कृति, संवेदना र सभ्यता बोकेको सिर्जनाका रूपमा हेर्छन् । कलाकारको अधिकार, रोयल्टी, संगीतको गुणस्तर र नयाँ पुस्ताको जिम्मेवारीबारे स्पष्ट धारणा राख्ने उनी अहिले पनि आफूलाई ‘संगीतको विद्यार्थी’ भन्न रुचाउँछन् । उनै गायक नेपालीसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंको सांगीतिक यात्राको सुरुआत कहाँबाट भयो ?
मेरो यात्रा मोरङको गाउँबाट सुरु भयो । रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ताको मान्छे हुँ । नारायण गोपाल, अरुण थापा, दीप श्रेष्ठ, तारादेवीजस्ता अग्रजका गीतहरूले मेरो मनमा संगीतप्रतिको प्रेम जगाए । त्यही प्रेम विस्तारै सपना बन्यो ।
काठमाडौं आएपछि संघर्ष कस्तो रह्यो ?
निकै कठिन थियो । कसैलाई चिन्दिनथेँ, आर्थिक अवस्था पनि सहज थिएन । स्टुडियो धाउने, आफ्नो आवाज सुनाउने र अवसरको प्रतीक्षा गर्ने काम नै दिनचर्या थियो । तर एउटा विश्वास कहिल्यै हराएन– मेहनतको फल एक दिन अवश्य मिल्छ ।
‘आज आकाशमा एउटा तारा देखिनँ’ कसरी जन्मियो ?
त्यो गीत मेरो आफ्नै अनुभूतिबाट जन्मिएको हो । एक साँझ एक्लै आकाशतिर हेर्दा मनमा आएका भावनाले शब्दको रूप लिए । पछि त्यसलाई गीत बनाएँ । त्यसैले त्यो सिर्जना मेरो जीवनसँग धेरै नजिक छ ।
त्यो गीतले तपाईंको जीवन कति बदल्यो ?
धेरै बदल्यो । त्यही गीतले मलाई चिनायो । सुरुमा धेरैले त्यो गीत मेरै हो भनेर पत्याउनुभएन । तर समयसँगै गीतसँगै मेरो नाम पनि स्थापित भयो ।
हङकङमा ‘तर अन्तिमपल्ट भेट्न आऊ’ गाउँदा भावुक हुनुभएको थियो ?
त्यो क्षण जीवनभर बिर्सन सक्दिनँ । गीत सकिएपछि दर्शकले ‘वान्स मोर’ भन्दै फेरि गाउन आग्रह गर्नुभयो । त्यतिबेला मेरो आँखा रसाएको थियो । त्यो माया कुनै पुरस्कारभन्दा ठूलो थियो ।
तपाईंका लागि लोकप्रियताको अर्थ के हो ?
लोकप्रियता भनेको सामाजिक सञ्जालको संख्या मात्र होइन । कुनै श्रोताले ‘तपाईंको गीतले मेरो जीवन छोयो’ भन्नु नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।
अहिलेका गीतहरू छोटो समयमै भाइरल हुन्छन्, तपाईंको धारणा के छ ?
भाइरल हुनु राम्रो हो, तर त्यसका लागि गीतको स्तर घटाउनु हुँदैन । राम्रो गीत समयसँगै झन् मूल्यवान् बन्छ । गीत बजारका लागि होइन, समयका लागि बन्नुपर्छ ।
तपाईंले कहिल्यै सस्तो लोकप्रियताको बाटो रोज्नुभएन, किन ?
कलाकारको सबैभन्दा ठूलो सम्पत्ति उसको इमानदारी हो । केही दिन चर्चामा आउन सजिलो होला, तर इतिहासमा बाँच्ने गीत बनाउन गुणस्तर चाहिन्छ । मैले सधैं त्यही बाटो रोजेको छु ।
कलाकारको अहिलेको सबैभन्दा ठूलो चुनौती के हो ?
कलाकारले आफ्नै सिर्जनाको उचित मूल्य पाउँदैन । रोयल्टी प्रणाली अझै प्रभावकारी छैन । कलाकारलाई सिर्जनाबाट सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण आवश्यक छ ।
राज्यसँग तपाईंको अपेक्षा के छ ?
कलाकारले भाषा, संस्कृति र पहिचान जोगाउँछ । त्यसैले कलाकारको सामाजिक सुरक्षा, सिर्जनाको संरक्षण र अधिकार सुनिश्चित गर्न राज्यले गम्भीर हुनुपर्छ ।
नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
चर्चा होइन, सिर्जना पछ्याउनुस् । अभ्यास, अनुशासन र धैर्यलाई कहिल्यै नछोड्नुस् । राम्रो कलाकार बन्न समय लाग्छ, तर त्यही यात्रा दिगो हुन्छ ।
अन्त्यमा, श्रोताका लागि केही भन्नुहुन्छ ?
म आज जहाँ छु, त्यो श्रोताको मायाले सम्भव भएको हो । उहाँहरूको विश्वासले नै मलाई निरन्तर राम्रो गीत गाउन प्रेरित गरिरहेको छ । आगामी दिनमा पनि संगीतको मानक जोगाउँदै श्रोताको मन छुने सिर्जना गर्ने प्रयास गरिरहनेछु ।










प्रतिक्रिया