१० श्रावण २०८३, आइतबार

सरकारले मुलुकलाई सही नेतृत्व प्रदान गर्न नसक्दा असन्तुष्टि र निराशा चुलियो : प्रभु साह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि चुलिएको बताएका छन् ।

राष्ट्रियताको रक्षा, सुशासनको सवाल र विकासको मामिलामा वर्तमान सरकार असफलताको दिशातर्फ उन्मुख रहेको साहको आरोप छ ।

आज (शनिबार) रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनताले देशको वर्तमान राजनीतिक व्यवस्थामा नै सुधारको लागि रास्वपालाई अभुतपूर्व मत दिँदा पनि सोहीअनुसार अहिलेको सरकारले पहलकदमी नलिएको बताए । उनले देशमा सरकार बदलिए पनि सिच्यूएशन नबदलिएको गम्भीर टिप्पणी गरे ।

बालेन्द्र साहको नेतृत्वमा सरकार बनेको छोटो समयमा नै जनतामा चरम निराशा चुलिएको र स्वयम् सरकारको नेतृत्व गरेको दल रास्वपा आन्तरिक विवादमा फसेको पूर्वमन्त्री साहको दाबी छ ।

गरिब, निमुखा र विपन्न जनता अहिलेको सरकारबाट त्रसित अवस्थामा रहेको भन्दै अझैसम्म विस्थापित सुकुम्बासीहरु रोएर बस्नुपरेको अवस्था पनि उनले चित्रण गराए ।

मूल्यवृद्धि नियन्त्रणको साटो दिनदिनै चुलिएको, विकास खर्च गर्न नसकेको र आन्तरिक तथा वैदेशिक ऋण बढाउने काममा वर्तमान सरकार लागिपरेको भन्दै उनले अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न नसक्ने ठोकुवा गरे ।

उनले वर्तमान सरकारले विकास कुटनीतिको हल्ला पिटे पनि वैदेशिक सम्बन्ध सुधारको लागि कुनै ठोस पहल नलिएको आरोप लगाए ।

भारत, चीन लगायतका महत्वपूर्ण छिमेकीहरुसँगको सम्बन्ध अहिले अवरुद्धको अवस्थामा रहेको र ती देशहरुमा राजदूतविहीन बनाउने काम गरिएको भन्दै साहले सरकारको आलोचना गरे ।

उनले प्रधानमन्त्री साहले विदेशी राजदूतहरुसँग एक्लाएक्लै नभेट्ने भनेर चर्चा बटुले पनि आफ्ना सल्लाहकारलाई सुटुक्क दिल्ली दौडमा पठाएको र सम्बन्ध सुधारको लागि पहल लिएको खबर बाहिरिनुले पनि प्रधानमन्त्रीको राष्ट्रवादी छवि उदांगिएको टिप्पणी गरे ।

उनले विदेश सम्बन्धमा हचुवा र आलोकाँचो व्यवहार प्रस्तुत नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।

उनले सरकारको हरेक गलत क्रियाकलापहरुको सशक्त प्रतिवाद गर्न पनि युवा पँक्तिलाई निर्देशन दिए । देश बदलावको लागि युवाहरुले नै विशेष भूमिका खेल्नुपर्ने बेला आएको भन्दै सत्तामा बसेकाहरुका अन्धभक्तहरुले साइबर बुलिङ गर्दैमा सत्य कुरा बोल्न नडराउन पनि साहले आग्रह गरेका छन् ।

यस्तै, उनले परिवर्तन तथा अग्रगामी शक्तिहरुबीच तत्काल सहकार्यको आवश्यकता पनि औंल्याए ।