९ असार २०८३, मंगलबार

एक्स्प्रेस रोडको प्रधानमन्त्री र लोकल नेपालको दुःख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-टेकराज पौडेल

हिजो मात्र चितवनमा आयोजित रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफू अब ‘एक्स्प्रेस वे’ मा हिँड्ने र ब्रेक नै नलगाई तीव्र गतिमा दौडिने घोषणा गर्नुभयो। सुनेपछि मलाई लाग्यो—सायद नेपाल अब जापान, दक्षिण कोरिया वा सिंगापुर भइसक्यो र हामीलाई मात्र खबर नभएको रहेछ !

सुनेपछि मलाई लाग्यो—सायद नेपाल अब जापान, दक्षिण कोरिया वा सिंगापुर भइसक्यो र हामीलाई मात्र खबर नभएको रहेछ !

नेपालको सबैभन्दा लामो महेन्द्र राजमार्ग नै करिब १०३० किलोमिटरको छ। त्यसमाथि दाङ, बाँके र बर्दियाका वन्यजन्तु क्षेत्र पुगेपछि एक्स्प्रेस सपनाले पनि ब्रेक खान्छ। त्यहाँ गाडीले भाषण होइन, नियम मान्नुपर्छ। प्रधानमन्त्रीको गाडीलाई साइरन बजाएर हरिण, चितुवा र बाघलाई बाटो छोड्न लगाउने सुविधा होला, तर सर्वसाधारण नागरिकले त १०–२० किलोमिटर प्रतिघण्टाको गतिमै देशभक्ति देखाउनुपर्छ।

देश भनेको महेन्द्र राजमार्ग मात्रै होइन। प्रदेश र स्थानीय तहले बनाएका हजारौं किलोमिटर सडक पनि नेपालकै हिस्सा हुन्। त्यहाँ पनि प्रधानमन्त्री पुग्नुपर्छ। एक्स्प्रेस रोड नभएका ठाउँमा प्रधानमन्त्रीलाई लैजान नसकिने हो भने चुनावका बेला बाँडिएका सपना कसरी पूरा हुन्छन्रु हुन त गाउँ पुग्दा प्रधानमन्त्रीज्यूलाई थाहा हुन सक्छ—नेपालमा एक्स्प्रेस भाषण धेरै बने, एक्स्प्रेस रोड भने अझै कमै बने।

कहिलेकाहीँ एक्स्प्रेस गाडीको स्पिडोमिटर आफैँ तल झार्नुपर्छ प्रधानमन्त्रीज्यू ! कतै खाल्डो छ, कतै भासिएको पुल छ, कतै पहिरो छ, कतै सडकभन्दा खेत समथर छ। त्यहाँ १०० किलोमिटर प्रतिघण्टा होइन, ५ किलोमिटर प्रतिघण्टामा पनि गाडी हाँक्न सक्ने चालक नै कुशल मानिन्छ।

कहिलेकाहीँ एक्स्प्रेस गाडीको स्पिडोमिटर आफैँ तल झार्नुपर्छ प्रधानमन्त्रीज्यू ! कतै खाल्डो छ, कतै भासिएको पुल छ, कतै पहिरो छ, कतै सडकभन्दा खेत समथर छ।

झन् रमाइलो त के भने, चुनावताका राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग बनाउने सपना बाँडेको थियो। अहिले बजेट हेर्दा सपना एक्स्प्रेसमा दौडिरहेको छ, तर बजेट भने लोकल बस चढेर आउँदैछ। हिसाब मिलाउँदा सपना र स्रोतबीचको दूरी काठमाडौं–कर्णालीभन्दा पनि लामो देखिन्छ। बाँकी सडक कृत्रिम बुद्धिमत्ताले बनाइदिने हो, ड्रोनले छर्ने हो, कि भाषणमै उद्घाटन हुने हो—त्यो भविष्यले बताउला !।

सायद प्रधानमन्त्रीज्यूले चुनाव प्रचारका बेला सडकको वास्तविक अवस्था देख्नुभएन होला। जहाँ पुग्नुभयो, त्यहाँ समर्थकको भीड थियो, मोबाइलका क्यामेरा थिए, सेल्फी थियो, जयजयकार थियो। भीडले घेरिएको मान्छेले खाल्डो कहाँ देख्छ र ?

तर यतिबेला एक जना विद्वान् कानुनविद् बिपिन अधिकारीले प्रधानमन्त्रीलाई सम्झाइरहनुभएको छ—हाइवेमा गाडी दौडाउनु नराम्रो होइन, तर गन्तव्यमा पुग्न इन्जिनको शक्ति मात्र पर्याप्त हुँदैन। चालकको संयम, नक्साको यथार्थ, ट्राफिक नियमको सम्मान र सहयात्रीहरूसँगको समझदारी पनि चाहिन्छ। दुई तिहाइको इन्जिन जडेर मात्र यात्रा पूरा हुँदैन। कहिलेकाहीँ विपक्षीसँग एउटै चियापसलमा रोकिएर बाटो पनि सोध्नुपर्छ। किनभने राजनीति र सडक यात्रामा एउटा समानता छ—गलत मोडमा पुगेपछि स्पिडले होइन, विवेकले जोगाउँछ।

अहिले त यस्तो लाग्न थालेको छ—सरकारको नक्सामा नेपाल एक्स्प्रेस रोडको देश हो, तर नागरिकको अनुभवमा अझै धक्का, धुलो र धैर्यको देश हो।

अहिले त यस्तो लाग्न थालेको छ—सरकारको नक्सामा नेपाल एक्स्प्रेस रोडको देश हो, तर नागरिकको अनुभवमा अझै धक्का, धुलो र धैर्यको देश हो। सिंहदरबारबाट हेर्दा सडक सिधा देखिएला, तर गाउँतिर जाँदा बाटो मात्र होइन, कहिलेकाहीँ गाडीका पार्टपुर्जा पनि छुट्टाछुट्टै यात्रा गरिरहेका भेटिन्छन्। भाषणमा देश दौडिनु र सडकमा गाडी दौडिनु दुई फरक कुरा हुन्। जनताले वर्षौंदेखि एक्स्प्रेस सपना सुन्दै आएका छन्, तर उनीहरू चढ्ने बस अझै खाल्डा गन्दै गन्तव्य पुगिरहेको छ।

देश बुझ्न एक्स्प्रेस रोडमा कालो चस्मा लगाएर हुइँकिनु पर्याप्त हुँदैन। धुलाम्मे लोकल सडकमा झर्नुपर्छ। किसानको खेतसम्म पुग्ने बाटो, बिरामी बोकेर अस्पताल जाने सडक, विद्यार्थी हिँड्ने गोरेटो र मजदुरको पसिना मिसिएको बाटो पनि हेर्नुपर्छ।

बिपी कोइरालाले सिंहदरबारको भित्तामा हलो जोतिरहेको किसानको तस्वीर सजावटका लागि मात्र राख्न लगाउनुभएको थिएन। देश बनाउन योजना बनाउने र शासन गर्नेले देशको वास्तविक अनुहार सधैँ आँखाअघि देखोस् भनेर राख्नुभएको थियो। आज पनि त्यो सन्देश उत्तिकै सान्दर्भिक छ। देश एक्स्प्रेस रोडका काला पिचहरूमा मात्र छैन, हिलो, धुलो, खाल्डाखुल्डी, गोरेटो र संघर्षमा पनि छ।

प्रधानमन्त्रीज्यू, देश चलाउनु र गाडी कुदाउनु एउटै कुरा होइन। गाडीमा एक्सेलेरेटर मात्र हुन्छ, देशमा जनता पनि हुन्छन्, संसद् पनि हुन्छ, कानुन पनि हुन्छ, विपक्षी पनि हुन्छन् र यथार्थ पनि हुन्छ।

प्रधानमन्त्रीज्यू, देश चलाउनु र गाडी कुदाउनु एउटै कुरा होइन। गाडीमा एक्सेलेरेटर मात्र हुन्छ, देशमा जनता पनि हुन्छन्, संसद् पनि हुन्छ, कानुन पनि हुन्छ, विपक्षी पनि हुन्छन् र यथार्थ पनि हुन्छ। एक्स्प्रेस रोडमा ब्रेक नलगाउने कुरा भाषणमा आकर्षक सुनिएला, तर राजनीतिमा ब्रेक फेल भएको गाडी गन्तव्यमा पुग्दैन—दुर्घटनामा पुग्छ।

किनभने नेपाल अझै एक्स्प्रेस भाषणले होइन, लोकल यथार्थले चलिरहेको देश हो। र यथार्थको गति स्पिडोमिटरले होइन, जनताको दुःख, आशा, धैर्य र प्रतीक्षाले नापिन्छ।