–सूर्य थापा
पार्टीले चुनाव हारेका बेला समीक्षाको र्याइँ र्याइँ बढी हुन्छ, हामीले अहिले त्यसै गरिरहेका छौँ। जितेका बेला विजय जुलुसकै भ्याइनभ्याइँ हुन्छ। यो भ्याइनभ्याइँ र र्याइँ र्याइँको बीचको यस अन्तरमा हामी यहाँ छलफलमा बसिरहेका छौँ। म सुरुमा यो कुरा भन्न चाहन्छु।
समीक्षाको बारेमा निर्वाचन परिचालन कमिटीले प्रतिवेदन दिइसकेको छ। हाम्रो पार्टीका पदाधिकारी कमरेडहरूले त्यसलाई हेरिरहनुभएको छ। केही चित्त नबुझेका कुरा छन् भने उहाँहरूले ल्याउनुहोला/भन्नुहोला, ती कुराहरू आउनेछन्।
अब पुनर्गठनको कुरा जुन ल्याउनुभएको छ, यो पुनर्गठनलाई मैले यहाँ तपाईँहरूको बीचमा उठेका कुराहरूको सन्दर्भमा केही भन्दिनँ। अन्तर्राष्ट्रिय सन्दर्भमा एउटा पेचिलो अनुभवका रूपमा उठेको पुनर्गठनको सन्दर्भलाई म तपाईँहरूका बीचमा राख्न चाहन्छु। सन् १९८९ तिर हुनुपर्छ, सोभियत सङ्घमा यो पुनर्गठनको विषय उठ्यो। पेरेस्त्रोइका यसको रुसी नाम थियो। यससँगै सुधारको कुरा पनि उठेको थियो। ग्लास्नोस्त यसको रुसी नाम थियो। पुनर्गठनलाई ठीक ढङ्गले अगाडि बढाउन सकेको भए सोभियत पार्टी, सोभियत सत्ता र सोभियत समाजवाद सबै जोगिन्थ्यो। पुनर्गठनलाई भ्रष्टीकरण गरेको हुनाले न सोभियत सत्ता रह्यो, न समाजवाद रह्यो, न सोभियत कम्युनिस्ट पार्टी बोल्सेभिक नै रह्यो। अहिले त्यहाँ कम्युनिस्ट पार्टी छ तर नाम मात्रको। त्यसो भएर म के भन्न चाहन्छु भने हाम्रो पार्टीको सचिवालयले पुनर्गठनका सन्दर्भमा एकरूप दृष्टिकोण बनाएको छ कि छैन? म यो सोध्न चाहन्छु। पछि नेताहरूबाट जवाफ आउला, स्पष्ट पार्नुहोला। यो कुरा म सोध्न चाहन्छु। पेरेस्त्रोइकाजस्तै पुनर्गठनको थालनी हो भने, कमरेडहरू, हामीले गोर्बाचेभ जन्माउने छौँ, तर त्यसले पार्टीलाई अगाडि बढाउने छैन, आन्दोलनलाई अगाडि बढाउने छैन र देशलाई पनि अगाडि बढाउने छैन। त्यसो भएर हामी यो पार्टीलाई एकताबद्ध गरेर अगाडि बढ्छौँ कि बढ्दैनौँ? यो मुख्य प्रश्न रहेको छ। यो कुरा म तपाईँहरूका बीचमा जोडदार रूपमा राख्छु।
हामी सावधान होऔँ, पेरेस्त्रोइकाबाट सावधान होऔँ। हरेक पुनर्गठन सधैँ पार्टीको हितमा हुँदैन। एकताबद्ध ढङ्गले पार्टीलाई अगाडि बढाउने कुरा पुनर्गठनको पूर्वशर्त हो भने त्यसले हामीलाई अगाडि बढाउँछ।
हामी सावधान होऔँ, पेरेस्त्रोइकाबाट सावधान होऔँ। हरेक पुनर्गठन सधैँ पार्टीको हितमा हुँदैन। एकताबद्ध ढङ्गले पार्टीलाई अगाडि बढाउने कुरा पुनर्गठनको पूर्वशर्त हो भने त्यसले हामीलाई अगाडि बढाउँछ। मैले यहाँ अपानि–२ मा लेखिएको कुरा हेरेँ। अपानिमा कुरा चाहिँ ठीकै ढङ्गले आएको छ। निर्वाचन समीक्षाको प्रतिवेदन आएको छ र पुनर्गठनको कुरा पार्टीलाई वैचारिक रूपमा, राजनीतिक रूपमा, सांगठनिक रूपमा एकताबद्ध बनाउन, पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न त्यसमा स्पष्ट भनिएको छ। त्यसै भएर यो विधिका लागि, नीतिका लागि, विचारका लागि, खिया लागेका कुराहरूलाई ठीक गर्नका लागि हो भने यो व्यक्तिकेन्द्रित पुनर्गठन किमार्थ पनि होइन। म यो कुरा चाहिँ तपाईँहरूका बीचमा राख्न चाहन्छु। अपानिले हामीलाई यही भनेको छ।
म अन्तर्राष्ट्रिय सन्दर्भका दुईजना व्यक्तित्वको मूल्याङ्कनका विषय राख्न चाहन्छु— खासगरी स्टालिनको मूल्याङ्कन र माओ सेतुङको मूल्याङ्कनका विषयमा निकै विवाद भयो। स्टालिनको मूल्याङ्कनका सन्दर्भमा सायद यस्तै राता–राता परेका कुरा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले स्टालिनका सत्तरी प्रतिशत सकारात्मक योगदान छन्, तीस प्रतिशतचाहिँ कमी–कमजोरी थिए। तर उहाँ कमी–कमजोरीसहितका महान् नेता हुनुहुन्थ्यो भन्ने मूल्याङ्कन गर्यो। माओ सेतुङका सन्दर्भमा पनि यही खालको मूल्याङ्कन भयो।
म यहाँ लुम्बिनीमा आएर यस छलफलमा भन्छु— अध्यक्ष केपी शर्मा ओलीका सन्दर्भमा पनि हामीले उहाँका योगदानहरू हेरौँ, उहाँका कमजोरीहरू पनि देखौँ। तर उहाँका कमजोरीभन्दा योगदानहरू धेरै महान् छन्।
म यहाँ लुम्बिनीमा आएर यस छलफलमा भन्छु— अध्यक्ष केपी शर्मा ओलीका सन्दर्भमा पनि हामीले उहाँका योगदानहरू हेरौँ, उहाँका कमजोरीहरू पनि देखौँ। तर उहाँका कमजोरीभन्दा योगदानहरू धेरै महान् छन्। अहिले पार्टीभित्र दुई लाइन होइन, तीन लाइनको उपस्थिति छ भन्ने लाग्छ मलाई। तपाईँहरूलाई कस्तो लाग्छ?
पहिलो, यो सारा उत्पात् अन्तर्राष्ट्रिय कारणले मात्रै भएको हो भन्ने लाइन छ। त्यसले आन्तरिक कारण देख्दैन। दोस्रो, केपी शर्मा ओलीले नै सबथोक बिगारेको भन्छ, त्यसले अन्तर्राष्ट्रिय रूपमा भइरहेको यति ठूलो षड्यन्त्रलाई देख्दैन, बरु आँखा चिम्लिन्छ। तेस्रोचाहिँ हामीले आन्तरिक कमजोरी पनि देख्नुपर्छ र अन्तर्राष्ट्रिय षड्यन्त्र पनि देख्नुपर्छ। पुनर्गठनको प्रस्थानबिन्दु यो हुनुपर्छ भन्ने मलाई लाग्छ।
यदि यसो गरिएन भने कमरेड विष्णुप्रसाद पौडेल, कमरेड पृथ्वीसुब्बा गुरुङ, नामै लिएँ मैले, उहाँहरूचाहिँ पानीमाथिको ओभानो बन्ने, तर अध्यक्ष केपी शर्मा ओलीलाई चाहिँ पार्टीबाट हटाउनुपर्छ भन्ने रूपमा देख्नुमा मलाई त हाँसो लागेको छ है साथीहरू! यो खालको पुनर्गठन हुन सक्तैन।
मलाई के लाग्छ भने नीतिसम्मत, विधिसम्मत र मेरिटोक्रेसी छैन भने मेरिटोक्रेसी बहाली गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ। विधि मिचिएको छ भने विधि मिचिएको ठाउँबाटै सच्याउनुपर्छ। पक्षपात भएको छ भने पक्षपात हटाउनुपर्छ। हिजो बजेट ल्याउँदा, नीति तथा कार्यक्रम ल्याउँदा, विभिन्न ठाउँबाट केन्द्रीय कमिटीमा मान्छे ल्याउँदा के–कसो भएको छ त? हामीले स्पष्ट देखेका छौँ नि!
लुम्बिनी प्रदेशमा हामीले सरकार चलाइरहेका छौँ। तर लुम्बिनी प्रदेशको सरकारका कारणले हामीले निर्वाचनमा जिल्लामा नुनिला आँसुका ढिका टिप्दै हिँड्नुपरेको छ। मन्त्रीजीहरूले कहिल्यै पनि हाम्रा प्राथमिकता सुन्नुभएको छैन। यी कुराहरू पनि पुनर्गठनका विषय बन्नुपर्छ। त्यसै भएर यो केवल अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित मात्रै विषय होइन। उहाँलाई हटाउने बहानाबाजी मात्र होइन।
म अन्तिममा भन्न चाहन्छु, सेक्टर काण्डको उदाहरण लिने हो भने रामबहादुर थापा ‘बादल’ कमरेड यहीँ हुनुहुन्छ, सेक्टर काण्डकै अनुभवबाट जाऔँ न त। केपी शर्मा ओली मात्रै होइन, सचिवालयका सबै नेता कमरेडहरू एक तह घटुवा भएर केन्द्रीय कमिटी सदस्यमा झर्नुहोस्, अनि निकास खोजौँ। म चाहिँ यो कुरा विशेष रूपमा भन्न चाहन्छु।
निराशाको निकास र पुनर्गठनलाई यस ढङ्गले अगाडि बढाऔँ। विधिसम्मत, नीतिसम्मत, पद्धतिसम्मत र हामीले अवलम्बन गरेको प्रक्रियासम्मत ढङ्गले एकताबद्ध भएर समाधान खोज्ने हो भने यो पार्टी रोएर बस्ने अवस्थामा हुने छैन।
कमरेडहरू, हामी एकताबद्ध भएर नै जाग्नेछौँ, उठ्नेछौँ र फेरि अगाडि बढ्नेछौँ।
धन्यवाद।
(एमाले केन्द्रीय कमिटी सदस्य सूर्यबहादुर थापा क्षेत्रीले नेकपा (एमाले)को २०८३ असार ४ गते कपिलवस्तुको चन्द्रौटाको बैठकमा राखेको धारणा जस्ताको तस्तै)








प्रतिक्रिया