काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा संक्रमणजन्य रोगहरूको जोखिम बढ्ने गर्छ ।
नेपालमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको जोखिम बढ्ने भएकाले नागरिकहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनरल फिजिसियन डा. संकल्प केसी बताउँछन् ।
अरिन हस्पिटलमा कार्यरत डा. केसीले बर्खायाममा देखिने स्वास्थ्य समस्या, नेपालको स्वास्थ्य क्षेत्रको अवस्था, चिकित्सक पलायन तथा नयाँ सरकारसँगको अपेक्षाबारे विस्तृत धारणा राखे । उनले पछिल्लो समय स्वास्थ्य क्षेत्र उल्लेखनीय आधुनिकीकरण भएको बताउँदै नेपाल स्वास्थ्य प्रविधिको क्षेत्रमा दक्षिण एसियामै प्रतिस्पर्धी अवस्थामा रहेको बताए । आधुनिक प्रविधिले रोग पहिचान, उपचार तथा स्वास्थ्य सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाएको उनको भनाइ छ ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा अहिले अत्याधुनिक प्रविधिहरू भित्रिएका छन् । यसले समय बचत गर्नुका साथै रोगको सही पहिचान र उपचारमा ठूलो सहयोग पुर्याएको छ । विश्वभर स्वास्थ्य विज्ञानमा दैनिक नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको छ, जसको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थालेको छ । ’
बर्खायामसँगै संक्रामक रोगको जोखिम
डा. केसीका अनुसार नेपालजस्तो विकासोन्मुख देशमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको प्रकोप बढ्ने गर्छ । विशेषगरी डेंगी, मलेरिया, टाइफाइड, स्क्रब टाइफस, झाडापखाला, हैजा, भाइरल हेपाटाइटिस तथा अन्य ज्वरोजन्य रोगहरू यस समयमा बढी देखिने गरेका छन् ।
उनले दूषित पानी र अस्वस्थ्यकर खानपानका कारण ग्यास्ट्रोइन्टेराइटिस, फुड पोइजनिङ, बान्ता, पखाला र ज्वरोजस्ता समस्या व्यापक रूपमा देखिने बताए । कतिपय ग्रामीण क्षेत्रमा हैजाजस्ता रोगले महामारीकै रूप लिनसक्ने भएकाले समयमै सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘बर्खायाममा पानीजन्य र खानाजन्य रोगहरू तीव्र रूपमा फैलिने सम्भावना हुन्छ । त्यसैले सुरक्षित खानेकुरा, उमालेको वा शुद्धीकरण गरिएको पानी तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।
बालबालिका र वृद्धवृद्धा बढी जोखिममा
उनका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू संक्रमणको उच्च जोखिममा पर्छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धामा संक्रमणको असर बढी देखिने गरेको छ ।
बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित भइनसकेको र वृद्धवृद्धामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरूलाई विशेष संरक्षण आवश्यक रहेको उनले बताए । परिवारका सदस्यहरूले यी उमेर समूहप्रति थप सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।
किन फैलिन्छन् सीमित क्षेत्रमा भाइरल रोग ?
कुनै गाउँ वा निश्चित क्षेत्रमा भाइरल रोगहरू एक्कासी फैलिने मुख्य कारण दूषित पानी, सरसफाइको अभाव र जनचेतनाको कमी रहेको डा. केसी बताउँछन् । उनका अनुसार खुला दिसापिसाब, सुरक्षित शौचालयको अभाव, संक्रमित व्यक्तिको सम्पर्क तथा स्वास्थ्यसम्बन्धी आधारभूत सावधानी नअपनाउँदा रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छन् ।
उनले भने, ‘संक्रमित व्यक्तिलाई अलग्गै नराख्ने, व्यक्तिगत सरसफाइमा ध्यान नदिने, हात नधुने तथा सुरक्षित पानी प्रयोग नगर्ने बानीका कारण ग्रामीण क्षेत्रमा कहिलेकाहीँ रोगले महामारीको रूप लिन सक्छ ।’
कसरी जोगिने ?
बर्खायाममा रोगबाट जोगिनका लागि घर तथा समुदाय स्तरमा केही आधारभूत सावधानीहरू अपनाउन उनले आग्रह गरेका छन् ।
उनका अनुसार डेंगीबाट बच्न घर वरिपरि पानी जम्न दिनु हुँदैन । फूलदानी, टायर, ड्रम, गमला लगायतका स्थानमा लामखुट्टेले फुलपार्ने भएकाले नियमित सरसफाइ गर्नुपर्छ । सुत्दा झुल प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुपर्ने उनले बताए ।
त्यसैगरी, खानपानमा विशेष ध्यान दिँदै उमालेको पानी पिउने, ताजा तथा सफा खाना खाने, लामो समय खुला राखिएको खाना नखाने तथा फ्रिजमा राखिएको खाना पुनः तताएर मात्र प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
‘सरसफाइ, नियमित व्यायाम, पर्याप्त पानी सेवन तथा स्वस्थ जीवनशैलीले धेरै रोगहरूबाट बच्न मद्दत गर्छ,’ उनले भने ।
ग्रामीण र सहरी स्वास्थ्य अवस्थाबीच अन्तर
नेपालको जनस्वास्थ्य अवस्थाबारे बोल्दै डा. केसीले ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य समस्याको प्रकृति फरक रहेको बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा हैंजा, झाडापखाला, क्षयरोग, निमोनिया, भाइरल ज्वरो तथा डेंगीजस्ता सरुवा रोगहरू बढी देखिन्छन् । सरसफाइ, सुरक्षित खानेपानी र स्वास्थ्य चेतनाको अभाव यसको मुख्य कारण हो ।
यता सहरी क्षेत्रमा भने उच्च रक्तचाप, मधुमेह, थाइराइड, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् । बदलिँदो जीवनशैली, शारीरिक गतिविधिको कमी तथा अस्वस्थकर खानपानका कारण नसर्ने रोगहरूको जोखिम बढिरहेको उनले बताए ।
स्वास्थ्य क्षेत्रमा सुधार भए पनि चुनौती कायमै
विगतको तुलनामा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको उनको भनाई छ ।
सरकारले गाउँगाउँमा स्वास्थ्य चौकी तथा अस्पताल स्थापना गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न थालेको छ । यद्यपि, जनचेतनाको कमी, अन्धविश्वास तथा परम्परागत उपचार पद्धतिमा अत्यधिक निर्भरताका कारण अझै धेरै नागरिक समयमै अस्पताल पुग्न नसकिरहेको उनले बताए ।
उनले भने, ‘कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको परामर्श लिनुपर्छ । अन्धविश्वास र घरेलु उपचारमा मात्र निर्भर हुँदा समस्या जटिल बन्नसक्छ ।’
चिकित्सक पलायनको बढ्दो चुनौती
नेपालबाट चिकित्सकहरू विदेश जानेक्रम बढ्दै गएको बताउँदै डा. केसीले यो समस्या स्वास्थ्य क्षेत्रमा मात्र सीमित नरहेको बताए । आर्थिक अवसर, पेशागत सुरक्षा, जीवनस्तर तथा भविष्यको सुनिश्चितताका कारण विभिन्न क्षेत्रका दक्ष जनशक्ति विदेशतर्फ आकर्षित भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘चिकित्सकहरूले ठूलो लगानी र कठिन परिश्रमपछि अध्ययन पूरा गरेका हुन्छन् । तर अपेक्षाअनुसारको आम्दानी, सुरक्षा र सम्मानजनक कार्य वातावरण नहुँदा धेरै चिकित्सक विदेश जान बाध्य भएका छन् ।’
उनले स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार नियन्त्रण, पेशागत सुरक्षा र उचित पारिश्रमिक सुनिश्चित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
नयाँ सरकारसँग सुधारको अपेक्षा
डा. केसीले नयाँ सरकारप्रति आशावादी रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा सुधारका लागि सकारात्मक पहल हुने अपेक्षा व्यक्त गरे । युवा नेतृत्वको सहभागिता बढेकाले स्वास्थ्य नीतिनिर्माण, सेवा विस्तार तथा व्यवस्थापनमा सुधार आउने विश्वास उनले व्यक्त गरे ।
‘अहिलेको नेतृत्वले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता दुवै बुझेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा विगतभन्दा केही सकारात्मक सुधार हुने अपेक्षा गरेका छौँ,’ उनले भने ।
उनले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन विशेष प्राथमिकता दिनुपर्ने बताए ।
बर्खायाममा फैलिने रोगहरूको जोखिम, ग्रामीण–सहरी स्वास्थ्य असमानता, चिकित्सक पलायन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका चुनौतीहरूबीच जनचेतना, सरसफाइ र प्रभावकारी सरकारी नीतिको आवश्यकता अझै बढेको डा. संकल्प केसीको निष्कर्ष छ । नेपाल न्यूज बैंक








प्रतिक्रिया