कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङेस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले राजश्व छलिको आशंकामा ट्रकसहित ठूलो परिमाणमा मालसामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३८७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । बिल–बिजकमा उल्लेखित विवरण र ट्रकमा लोड गरिएको सामानको मूल्यबीच फरक देखिएपछि प्रहरीले जाँच अघि बढाएको जनाएको छ ।
जाँचका क्रममा ट्रकमा जिरा, खुर्सानी, कपडा तथा जुत्ता लगायतका सामग्री फेला परेका छन् । बिल कागजातअनुसार ती सामानहरूको मूल्य ६० लाख ४१ हजार ५ सय ४८ रुपैयाँ रहेको छ भने ट्रक (कन्टेनर) को मूल्य करिब ७० लाख रुपैयाँ आँकलन गरिएको छ । यसरी गाडी र सामानको कुल मूल्य १ करोड ३० लाख ४१ हजार ५ सय ४८ रुपैयाँ पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक दाङ घोराही उपमहानगरपालिका–३ निवासी ४० वर्षीय छबिलाल घर्ती मगरलाई नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया