९ असार २०८३, मंगलबार

डल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहीन मकै नष्ट गरियो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाँकेको डलल्फिन फिड्समा भेटिएको २,५०० किलो गुणस्तरहिन मकै नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको नेपालगञ्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको गुणस्तरहीन मकै नष्ट गरेको हो ।

कार्यालयका अनुसार मिति २०८२/०८/१७ गते उद्योगको अनुगमन तथा निरीक्षणका क्रममा उद्योग परिसरमा ९३ बोरा मकै कैफियतयुक्त भन्दै ट्याग लगाएर राखिएको पाइएको थियो । मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत देखिएको र बाँकी ४३ बोरा मकै प्रयोगका लागि उपयुक्त रहेको पुष्टि भएको थियो ।

परीक्षण प्रतिवेदनका आधारमा विभागको कार्यालयले कोहलपुर नगरपालिका–७ का वडाध्यक्ष तथा डल्फिन फिड्स प्रालिका सञ्चालकको रोहबरमा गुणस्तरहीन मकै नष्ट गरिएको विभागले जनाएको छ । नष्ट गरिएको मकैको परिमाण ५० बोरा (प्रति बोरा ५० केजी) गरी जम्मा २,५०० केजी रहेको छ । यसको अनुमानित मूल्य ८२ हजार ५०० रुपैयाँ बराबर रहेको कार्यालयले जनाएको छ ।

खाद्य सुरक्षाको मापदण्ड कायम राख्ने उद्देश्यले यस्तो कदम चालिएको जनाउँदै कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित अनुगमन तथा गुण नियन्त्रण कार्यलाई निरन्तरता दिइने जनाएको छ ।