काठमाडौं । आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ । शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन् ।
विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो ।
यसैबीच, विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति सार्वजनिक गर्ने क्रम पनि जारी छ । महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति र संरचनाहरू सक्रिय भइरहेका छन् ।
शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले विशेष महाधिवेशनको समर्थनमा र्याली निकाल्ने भएको छ । समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार र्याली शनिबार दिउँसो १ बजे विशेष महाधिवेशनस्थल भृकुटीमण्डपबाट सुरु भई बागबजार परिक्रमा गरेर पुनः भृकुटीमण्डपमै आएर टुंगिनेछ । र्यालीमा सहभागी हुन समितिले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।
कांग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनको पक्षमा कांग्रेसको १४ औं महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् ।
कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ ।















प्रतिक्रिया