काठमाडौं । संयुक्त राज्य अमेरिकाले भेनेजुएला र क्यूबासहित भिसा बन्ड देशहरूको सूचीमा नेपाललाई पनि समावेश गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यो व्यवस्था अवैध आप्रवासन नियन्त्रण गर्न प्रभावकारी भएको दाबी गरेको छ ।
अमेरिकी सरकारको वेबसाइट ट्राभल डट स्टेट डट गभमा मङ्गलबार प्रकाशित सूचनाअनुसार अफ्रिका, ल्याटिन अमेरिका र एशियाका ३८ देशका नागरिकले टुरिस्ट बी वानरबी टू भिसाका लागि आवेदन गर्दा ५,००० देखि १५,००० अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । यो सूचीमा दक्षिण एशियाबाट नेपाल, बङ्गलादेश र भुटान समावेश छ ।
नेपाललाई सूचीमा राखिएको विषयमा नेपाली सरकारी निकायले औपचारिक प्रतिक्रिया नदिए पनि अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बीबीसीलाई इमेलमार्फत् प्रतिक्रिया दिएका छन् । उनका अनुसार भिसा बन्ड परीक्षण कार्यक्रमले ‘ओभरस्टे’ अर्थात् तोकिएको समयभन्दा बढी बस्ने प्रवृत्ति नियन्त्रण गर्न प्रभावकारी साबित भएको छ । उच्च ओभरस्टे दर, आप्रवासनसम्बन्धी जोखिम र परराष्ट्र नीतिका पक्षलाई ध्यानमा राखेर सूची विस्तार गरिएको उनको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपालका नागरिकहरूका लागि यो नियम जनवरी २१ बाट लागू हुनेछ । धरौटी रकम कति बुझाउनुपर्ने भन्ने निर्णय भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले गर्नेछन्, तर धरौटी बुझाएकै भरमा भिसा सुनिश्चित भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।
डोनाल्ड ट्रम्पले गत वर्ष राष्ट्रपतिको जिम्मेवारी पुनः सम्हालेपछि आप्रवासन नीतिमा कडाइ गरिएको छ ।
नेपालको अध्यागमन विभागका अनुसार सन् २०२५ मा मात्र अमेरिकाले ४६२ नेपालीलाई देशनिकाला गरेको थियो ।
अमेरिकी सरकारको नयाँ नियमले अमेरिका घुम्न, सम्मेलनमा सहभागी हुन वा अध्ययनरत छोराछोरीको दीक्षान्त समारोहमा जान चाहने नेपालीहरू प्रभावित हुनसक्ने अधिकारीहरू बताउँछन् । यद्यपि भिसा सेवा प्रदायकहरू भने धरौटीकै कारण अमेरिकाप्रति नेपालीहरूको आकर्षण घट्ने नदेखिएको जनाएका छन् ।









प्रतिक्रिया