–अन्जनी कुमार अधिकारी
उदयपुर । जनतामा विकास निर्माणप्रतिको चाहना दिनानुदिन बढ्दो छ । ठूला योजना, करोडौं बजेट र चम्किला पूर्वाधार नै विकास हो भन्ने आम बुझाइ रहँदै आएको छ । तर विकास सधैं ठूला आयोजनाबाट मात्र सम्भव हुन्छ भन्ने छैन । कहिलेकाहीँ साना तर सही कामले पनि जनताको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण अहिले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले प्रस्तुत गरेको छ ।
चौदण्डीगढी नगरपालिकाले सुरु गरेको एक सानो तर व्यवहारिक कार्यले अहिले स्थानीय जनतामाझ निकै ठूलो सफलता र प्रशंसा बटुलिरहेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको बाँकी समयलाई “भौतिक पूर्वाधार वर्ष”का रूपमा घोषणा गर्दै आफ्नै स्रोत र बजेट परिचालन गरेर १ वटा रोड रोलर, १ वटा टिपर र १ वटा जेसिबी खरिद गर्यो । यस निर्णयले नगरभित्रका ग्रामीण सडकको स्तरोन्नति कार्यमा नयाँ गति थपिएको छ । यसअघि ग्रामीण सडकको मर्मत तथा स्तरोन्नति ठेक्का गर्दा ढिलासुस्ती, गुणस्तरहीन काम र बजेटको अपव्यय हुने गुनासो धेरै सुनिन्थ्यो । तर नगरपालिकाले आफ्नै मेसिन प्रयोग गरेर काम थालेपछि न त काम रोकिएको छ, न त गुणस्तरमा सम्झौता भएको छ । अहिले वडावडाका बस्तीबस्तीमा गिट्टी बिछ्याएर रोड रोलरले राम्रोसँग पेल्ने काम भइरहेको छ, जसले भविष्यमा कालोपत्रे गर्न उपयुक्त आधार तयार गरिरहेको छ ।
हालसम्म चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ मा करिब १५ किलोमिटर, वडा नम्बर ३ मा करिब १० किलोमिटर, वडा नम्बर ४ मा झन्डै २५ किलोमिटर र वडा नम्बर ७ मा करिब १० किलोमिटर भित्री ग्रामीण सडक स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । यी सडकहरू वर्षौँदेखि हिलाम्मे र खाल्डाखुल्डी भएर स्थानीयवासीको दैनिकीलाई नै सास्ती दिँदै आएका थिए । अहिले भने ती सडकहरूमा सहज रूपमा सवारीसाधन चल्न थालेका छन्, जसले दैनिक जीवनलाई निकै सहज बनाएको छ ।
स्थानीयबासीहरूले नगरपालिकाको यस कार्यलाई खुलेर प्रशंसा गरेका छन् । “नगरले केही गर्न सक्दैन” भन्ने आलोचनाहरूलाई यस अभियानले व्यवहारमै गतिलो जवाफ दिएको उनीहरूको भनाइ छ । विकासका नाममा केवल भाषण र योजनामात्र नभई प्रत्यक्ष रूपमा देखिने काम भएको भन्दै स्थानीयहरु खुसी देखिएका छन् ।
स्थानीय बासिन्दा वीरेन्द्र विष्टले चौदण्डीगढी नगरपालिकाको यो पहललाई हालसम्मकै नमुना कार्यको रूपमा लिनुपर्ने बताउँछन् । उनी भन्छन्, “जनतालाई दिइने सानो सेवा नै राज्यका लागि ठूलो सफलता हो । यस्तो कामले सरकारप्रति विश्वास बढ्छ र स्थानीय तहको छवि पनि मजबुत हुन्छ ।”
नगरपालिकाले सुरुमा दश वडालाई समेट्दै प्रति वडा करिब ५ किलोमिटरका दरले यस वर्ष करिब ५० किलोमिटर ग्रामीण सडक स्तरोन्नतिको लक्ष्य लिएको थियो । तर वडाहरूको सक्रिय सहभागिता, जनप्रतिनिधि, वडा अध्यक्षहरुको इच्छाशक्ति मेहनत र स्थानीय पूर्ण सहयोगका कारण अहिले एकै वडाले करिब २०/२५ किलोमिटर सडक स्तरोन्नति गर्ने अवस्थामा पुगेको नगरप्रमुख कालुमान लामाले जानकारी दिए ।
नगरप्रमुख लामाका अनुसार, “गरे के हुँदैन ?” भन्ने सोचका साथ यो अभियान सुरु गरिएको हो । उनी भन्छन्, “जनता हरेक दिन खाल्डाखुल्डी सडकमा हिँड्दा कस्तो पीडा हुन्छ भन्ने कुरा मैले नजिकबाट महसुस गरेको छु । त्यसैले नगरपालिकाले आफ्नो गक्ष र क्षमताभित्र रहेर सबै ग्रामिण सडकलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने सङ्कल्प लिएको हो ।”
उनका अनुसार अहिले भइरहेको सडक स्तरोन्नतिको कामले भविष्यमा ठूलो बजेट खर्च नगरी क्रमशः कालोपत्रे गर्न सहज वातावरण तयार गरिरहेको छ । यसले नगरपालिकाको दीर्घकालीन योजना, खर्च व्यवस्थापन र विकास प्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ ।
चौदण्डीगढी नगरपालिकाको यो उदाहरणले एउटा महत्वपूर्ण सन्देश दिएको छ । विकास सधैं ठूला आयोजना र ठूलो बजेटबाट मात्र हुँदैन । सही योजना, इमानदार नेतृत्व र जनताको आवश्यकता बुझेर गरिने साना कार्यले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । आज चौदण्डीगढीमा देखिएको यो सफलता अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बन्नसक्छ ।








प्रतिक्रिया