११ कार्तिक २०८३, बुधबार

सुरेन्द्र पाण्डे नै उम्मेदवार सिफारिसमा नपरेपछि…

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो क्षेत्र चितवन–१ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् । चितवन–१ निर्वाचन क्षेत्र समन्वय कमिटीले उनको नाम सिफारिस नगरेको हो ।

आइतबार बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले जिल्ला अध्यक्ष कमलराज पाठक, दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

चितवन–१ बाटै २०७० र २०७४ सालमा दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका तथा पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेको नाम सिफारिसमा नपरेपछि पार्टीभित्र चासो र चर्चा सुरु भएको छ ।

पार्टीको ११ औं महाधिवेशनमा महासचिव पदमा पराजित भएका पाण्डेले जिल्ला कमिटीबाट औपचारिक रूपमा सम्पर्क नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि जगन्नाथ थपलिया, दावा दोर्जे लामा, प्रेम दवाडी र प्रभा बराल लगायतका नेताहरूले भने सम्पर्क गरेको उनले बताए ।

‘उहाँहरूले के गरौं भन्नुहुन्थ्यो । मैले मिलाएर गर्नुहोस् भनेको थिएँ,’ पाण्डेले भने, ‘निर्वाचन क्षेत्रीय समन्वय कमिटीका रहेका साथीहरूले आफै बुझ्ने कुरा हो । अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा मेरो नाम राखिदिनुस् भनेर पक्कै भन्नु भएन होला । उपाध्यक्ष विष्णु पौडेलले पनि रूपन्देही–२, ३ मा नाम सिफारिस गर्नुस् भन्नु भएन होला ।’

गत निर्वाचनमा पनि पाण्डेको टिकट अन्तिम समयमा मात्रै टुंगो लागेको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए ।

यस विषयमा जिल्ला अध्यक्ष कमलराज पाठकले भने पार्टी जिल्ल्लाका सदस्यहरूले पाण्डेसँग उम्मेदवारीबारे बुझेको दाबी गरे । उनका अनुसार पाण्डेले उम्मेदवार बन्ने इच्छा नरहेको बताएका थिए ।

पाठकका अनुसार अहिले पनि पूर्वउपाध्यक्ष पाण्डेले उम्मेदवार सिफारिस होस् भनेको खण्डमा जिल्लालाई नाम समावेश गर्न समस्या छैन । उनले आवश्यकता परेमा नाम घटाउने वा थप गरेर माथिल्लो कमिटीमा पठाउन सकिने बताए ।