११ कार्तिक २०८३, बुधबार

बुढीगंगाका तत्कालीन नगरप्रमुख शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगरप्रमुख दिपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा शाहसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन नगरप्रमुख शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, अधिकृत छैटौं नरेन्द्र नाथ, इन्जिनियर पारस खाती, तत्कालीन सबइन्जिनियर गणेशराज रेग्मी लगायत १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियत पूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको लगायत बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको विरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरुविरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरी अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ । तत्कालीन नगरप्रमुख शाहसहित प्रतिवादीहरूले आपसी मिलेपतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानीनोक्सानी पुर्‍याउने उद्देश्यले सो कार्य गरेको अख्तियारको ठहर छ ।