२२ जेष्ठ २०८३, शुक्रबार

टिकटकमार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हिन्दु समुदायमाथि अभद्र टिप्पणी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको कमला नगरपालिका ६ का १९ वर्षीय हैदर अंसारी र सोही ठाउँका १९ वर्षीय अमानत अंसारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । ती दुबै जनाले बनाएको भिडियो हेरेर कमला नगरपालिकाका युवाहरु आक्रोसित भएको थिए । सो पश्चात युवाहरुको एक समूहले कमला नगरपालिका ६ सखुवा टोलमा रहेको मस्जिदमा तोडफोड गरी कागजपत्रहरु निकाली धार्मिक ग्रन्थहरुसमेत जलाएका थिए ।

सोही तोडफोड र धार्मिक ग्रन्थहरु जलाएको आरोपमा धनुषा प्रहरीले सोही वडाका २५ वर्षीय कपिल भन्ने प्रताप साहलाई नियन्त्रणमा लिएको छ । साहलाई मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

घटनामा थप केही व्यक्तिहरुको संलग्नता रहेकोले उनीहरुको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ । साथै, कुनै पनि सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामाथि खल्ल पुर्‍याउने खालका सामग्री, भिडियो, अडियो, पोस्ट जस्ता कुराहरु अपलोड नर्गन धनुषा प्रहरीले सचेत गराएको छ ।